• १३ साउन २०८१, आइतबार

सात वडामा चार उम्मेदवार

blog

सिमकोटस्थित मुुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर :राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १५ गते । हुम्लाका सातवटा वडामा वडाध्यक्षसहित चार जनाको मात्र मनोनयन दर्ता भएको छ । ती वडामा दलित समुदायको बसोवास नभएकाले पूरै पदमा मनोनयन दर्ता नभएको हो ।मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिल्लाका दुई गाउँपालिकाका सातवटा वडामा वडाध्यक्षसहित चार जनाको मात्र उम्मेदवारी परेको बताउनुभयो । उहाँले यसरी चार जनाको मात्र उम्मेदवारी पर्ने नाम्खा गाउँपालिका–१ देखि ६ र चङ्खेली गाउँपालिका–५, नेक्पागाउँका सातवटा वडा रहेको बताउनुभयो । 

उहाँले सातवटै वडामा दलित समुदायको बसोवास नभएकाले दलित महिला सदस्यको मनोनयन नै दर्ता नभएको बताउनुभयो । अब ती सबै वडा चार जना जनप्रतिनिधिबाट सञ्चालन हुनेछन् । उहाँले स्थानीय शासन सञ्चालन ऐनले व्यवस्था गरेअनुसार एउटा वडाका लागि पाँच जना जनप्रतिनिधिको व्यवस्था छ । तर, हुम्लाका ती वडामा एक/एक जना जनप्रतिनिधि कम हुने उहाँले बताउनुभयो । यसरी कानुनले व्यवस्था गरेको कुरालाई कुनै समुदायको बसोवास नै नभएपछि त्यसका लागि विकल्प दिनुपर्ने सुझाव उहाँले दिनुभयो । तर, यो समस्या समाधानका लागि निर्वाचन आयोगसँग कुरा गर्दा अब केही गर्न नसकिने आयोगले जनाएको छ । 

दलित महिलाको मनोनयन नपरेपछि स्थानीय तह निर्वाचनबाट चयन हुने जनप्रतिनिधिको सङ्ख्या पनि घट्ने बताइएको छ । जिल्लाका सातवटै गाउँपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिको जनसङ्ख्या दुई सय ३४ हुनुपर्नेमा अब २२७ मा सीमित हुने भएको छ ।

एक हजार १४४ जना सुरक्षाकर्मी 

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार स्थानीय तह निर्वाचनका लागि ५४ वटा मतदान केन्द्र र मोबाइल टोली गरी एक हजार १४४ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन् । उहाँले निर्वाचनका लागि परिचालन हुने कुल सुरक्षाकर्मीमध्ये तीन सय ९४ जना म्यादी प्रहरी, तीन सय २४ जना नेपाल प्रहरी, दुई सय जना सशस्त्र प्रहरी र एक सय ७० जना नेपाली सेनाको सङ्ख्या रहेको छ ।

एउटा गाउँपालिकाका लागि तीन/तीनवटा स्थानमा सुरक्षा व्यवस्था गरिने भएको हो । सोही स्थानबाट गाउँपालिकाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । यसैबीच, निर्वाचनलाई आधार मानी गुल्मपतिको नेतृत्वमा ७० जना नेपाली सेनाको टोली सर्केगार्ड गाउँपालिका केन्द्रमा बसेको छ । सुरक्षा समितिका अनुसार नेपाली सेनाको सो टोलीले दक्षिणी क्षेत्रमा सुरक्षा प्रदान गर्नेछ ।