• ७ कात्तिक २०८१, बुधबार

धिमाल पर्वमा बिदा

blog

हरि कोइराला

उर्लाबारी, असार २ गते । पश्चिम झापा र पूर्वी मोरङमा बस्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको जातिरी÷जात्रि पर्वको समापनका अवसरमा आज (असार २ गते) कोशी प्रदेशका पाँच पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

झापाको दमक नगरपालिका, मोरङका बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिका एवम् कानेपोखरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।कोशी प्रदेश सरकारले पनि असार १ गते मन्त्रीस्तरीय निर्णय गर्दै धिमाल समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  

 वैशाख १ गते मोरङको लेटाङ १ राजारानीस्थित धिमाल ग्रामथानबाट सुरु भएको जातिरी, सिरजात २ महिनापछि आज समापन हुन लागेको हो । मोरङको उर्लाबारी–३ स्थित १० बिघेमा रहेको धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरमा आज समापन कार्यक्रम हुँदै छ । झापा, मोरङ र सुनसरीमा रहेका १०३ वटा धिमाल बस्ती(टोलमा) पूजाआजा गरी असार २ गते सामूहिक रूपमा जातिरीको समापन गर्ने गरिन्छ । धिमाल जातीय विकास केन्द्रका महिला विभाग प्रमुख पम्फा धिमालले भन्नुभयो – जातिरीको समापन पछि धिमाल समुदाय कृषि पेसामा लाग्छन् । वर्षभरि खाने अन्न राम्रो फलोस्,बालबच्चालाई पढ्न आओस् ,रोगब्याध नलागोस्, आर्थिक रूपमा सबै सम्पन्न बन्न भन्ने कामना गर्दै प्रकृतिको पूजा गर्ने गरिन्छ ।