• ४ असार २०८१, मङ्गलबार

शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेता युक्रेन प्रस्थान

blog

लुसर्न (स्विजरल्याण्ड), असार १ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् । 

बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ तर रसियाले भने भाग लिने छैन । 

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई “सबैलाई विचलित गर्ने चाल” भन्दै प्रतिकार गर्नुभएको छ ।

उहाँले कियभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा “तुरुन्तै” शान्ति वार्ता सुरु गर्ने बताउनुभयो ।

जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानासाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय “अल्टिमेटम” का रूपमा आलोचना गर्नुभएको छ । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर सर्तलाई अस्वीकार गरेको हो । रासस/एएफपी