• ४ साउन २०८१, शुक्रबार

सामाजिक परिवेशका कथा

blog

कथा विगतमा लेखिएका थिए, वर्तमानमा लेखिँदै छन् र भविष्यमा पनि लेखिने छन् । प्रत्येक जीवनको सरल र यथार्थ पाटो कथा हो । कथा पढिन्छ, यसकारण कथा लेखिन्छ । नपढिने भए कथा लेखिन्थेन । कथा जीवन जस्तै हुन्छ, जीवन कथा जस्तै हुन्छ । यी दुईका बिच कुनै तात्त्विक भिन्नता हुँदैन । यसर्थ कथा लेखिइरहेका छन् । कथा लेखिने क्रम जारी छ । भविष्यमा पनि यसले निरन्तरता पाइरहने छ, यो कुरामा कुनै दुबिधा छैन । कथा आजसम्म धेरै लेखिए र धेरैले लेखे । जति लेखिए पनि यो क्रम रोकिएको वा सकिएको छैन । यति उति भन्ने नै छैन, हाम्राअगाडि कथाका धेरैभन्दा धेरै विषयवस्तु छन् । यसकारण कथा लेख्ने क्रमले निरन्तरता पाइरहेको हो । 

यतिबेला हाम्रो माझमा आफ्नो दोस्रो कथाकृति ‘चौध भुवन’ का साथ कथाकार सपूत कार्की उपस्थित हुनुभएको छ । मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको चन्द्रपुरका कार्की नवोदित कथाकार भने होइन । कार्कीले विसं २०४५ मा ‘पागल’ कथासङ्ग्रह प्रकाशित गरेर कृतिकारको परिचय बनाइसक्नुभएको छ । तथापि उहाँको लेखनले बिचमा निरन्तरता पाउन सकेन अर्थात् लेख्न त लेखिरहनुभयो तर कृति प्रकाशनतिर उहाँको ध्यान जान सकेन । यसर्थ पहिलो कृति बजारमा आएको ३५ वर्षपछि दोस्रो कृतिका साथ कार्की पुनः पाठकसामु आउनुभएको छ । ढिलै भए पनि कार्की नवीन कृतिका साथ पाठकसामु आउनुभयो । यसकारण उहाँ कृति प्रकाशनमा पछि रहे पनि साहित्य क्षेत्रबाट बिल्कुल टाढा नरहेको पुष्टि हुन्छ । 

प्रस्तुत सङ्ग्रहभित्र ‘तिमी नै भन त मैना’, ‘कान्छी’, ‘पात्रको मृत्यु’, ‘म आशा बाँडिरहेछु’, ‘अस्वीकृत सहिद’, ‘फुलवाको विवाह’, ‘नियति’, ‘गोपाल कुटी’, ‘पुस्तक’, ‘ट्रेसी’, ‘गल्ली नम्बर आठ’, ‘सोनफी’, ‘राहत’ र ‘भुस्याहा कुकुर’ गरी चौध शीर्षकका कथा समावेश छन् । कृतिभित्र समावेश यी कथालाई आधार मानेर पुस्तकको शीर्षक ‘चौध भुवन’ राखिएको प्रतीत हुन्छ । सङ्ग्रहभित्र समावेश हरेक कथाले एउटा न एउटा उद्देश्य बोकेका छन् । यहाँभित्र कुनै न कुनै उद्देश्य नबोकेका त कथा नै छैनन् । प्रत्येक कथाले एउटा स्पष्ट खाका कोरेका छन् । लक्ष्य समाएर हिँडेको मानिस मात्र गन्तव्यमा पुग्न सक्छ । लक्ष्य नभएका वा नसमाएकाहरू कहीँ कतै पुग्दैनन् । ती बाटा चौबाटामा अल्मलिन्छन्, हराउँछन् र पुग्नुपर्ने ठाउँभन्दा कता हो कता टाढा हुन्छन् । 

कथामा जीवन खोजिएको छ, जीवनको सार खोजिएको छ र बाटो पहिल्याउन नसकेर बिच सडकमा उभिएकाहरूको मनोदशा खोजिएको छ । धेरै मानिस आफूलाई जान्न बुझ्न नसकेकै कारण प्रगतिबाट टाढा रहेका हुन् । यो कुरा यहाँका कथामा आएका छन् र पात्रहरूले ती बुझेका पनि छन् । यसर्थ ती जीवन सङ्घर्षबाट कतै टाढा भागेका छैनन् । त्यता तिनीहरूको ध्यान गएको पनि छैन । किन त्यस्तो  हुन्छ ? ती यही कुरा गहिरिएर खोजिरहेका छन् । सामाजिक विषयवस्तु र जीवनका विविध परिधि समेटिएका यी कथाले आफैँ उभिएको धरातलको अर्थ, सामथ्र्य र गम्भीरता खोजेका छन् । मानिस, उसको मनोदशा, क्रियाकलाप, जीवनका आरोहअवरोह र अवस्था तथा व्यवस्थाको सटिक चित्रण यी कथामा पाइन्छ । ती विषयले कथालाई पठनीय बनाएका छन् । 

सङ्ग्रहभित्रको पहिलो कथा ‘तिमी नै भन त मैना’ मा शान्ताले पिँजडामा थुनिएकी मैनाचरीको जस्तै आफ्नो स्वतन्त्रता पनि थुनिएको प्रसङ्ग कोट्याएकी छन् । यो कथाले नारी स्वतन्त्रताका पक्षमा वकालत गरेको छ । दोस्रो कथा ‘कान्छी’ मा आफन्त र जन्मभूमिप्रति अगाध माया र सद्भाव तथा सम्झनाको प्रसङ्ग आएको छ । तेस्रो कथा ‘पात्रको मृत्यु’ मा कथाकारले आफ्नो कथाको एउटा बेसहारा पात्रको सम्झना गरेका छन् । चौथो कथा ‘म आशा बाँडिरहेछु’ मा गरिबी र त्यसमा खेल्नेहरूको चित्रण छ । उनीहरूको जीवन सधैँ आश्वासन र आशामा बाँचिरहेको यथार्थलाई लेखकले कोट्याएका छन् । पाचौँ कथा ‘अस्वीकृत सहिद’ हाम्रो देशमा सहिदहरू पनि भागबन्डामा पर्ने गरेको तितो यथार्थ र हाम्रा भोगाइहरू प्रस्तुत गरिएको छ । छैटौँ कथा ‘फुलवाको विवाह’ मा तराईको समाजमा दाइजो प्रथाले ल्याएको विकृत रूपको इतिवृत्त देखाउने काम भएको छ । सातौँ कथा ‘नियति’ मा गरिबीका कारण उत्पन्न दुर्दशाको बयान छ । आठौँ कथा ‘गोपाल कुटी’ मा बाढीको ताण्डव नृत्य र त्यसैका कारण बस्तीसमेत उठेको चर्चा रहेको छ । नवौँ कथा ‘पुस्तक’ मा विवाहमा पुस्तक उपहार दिँदा दिनेले खेप्नु परेको अदृश्य पीडाको विवरण छ । १० औँ कथा ‘ट्रेसी’ मा विदेशी पात्रसँग लेखकको आत्मीयता जोडिएको प्रसङ्ग आएको छ । ११ औँ कथा ‘गल्ली नम्बर आठ’ मा लेखकले विगतको सम्झना गरेको प्रसङ्ग आएको छ । १२ औँ कथा ‘सोनफी’ मा सन्तान ईश्वरका वरदान मान्ने सोनफीलाई अव्यावहारिक मानिएको सन्दर्भ छ । १३ औँ कथा ‘राहत’ मा गरिबीबाट निम्तिएको समस्यालाई देखाइएको छ भने १४ औँ कथा ‘भुस्याहा कुकुर’ मा खराब आखिरमा जहाँ र जहिले पनि खराब नै हुँदो रहेछ भन्ने सन्देश पस्कन खोजिएको छ । 

समग्रमा भन्दा सङ्ग्रहभित्रका कथामा हाम्रा, विधि, व्यवहार, सोच, चिन्तन, मानसिकता, दृष्टिकोण, मूल्यमान्यता जस्ता विषय बग्रेल्ती आएका छन् । यी कथाले तराई र पहाडलाई जोड्ने काम गरेका छन् । ‘म आशा बाँडिरहेछु’, ‘फुलवाको विवाह’, ‘गोपाल कुटी र राहत’ तराईको भावभूमिसँग जोडिएका कथा हुन् । यी कथामा तराईको परिवेश र सन्दर्भ उजागर भएका छन् । तराईका पात्रका बोली उनीहरूकै बोलीमा आइदिएका भए सुनमा सुगन्ध हुने थियो । आगामी लेखन र प्रकाशनमा लेखकको ध्यान त्यतातिर जानु आवश्यक देखिन्छ । तथापि प्रस्तुत कृति नेपाली साहित्यको महìवपूर्ण प्राप्ति हो र यसका निम्ति लेखक बधाईका पात्र हुनुहुन्छ । पहिलो कृति प्रकाशित भएको ३५ वर्षपछि मात्र लेखकको दोस्रो कृति बजारमा आएको छ, अब त्यो स्थिति नहोस्; लेखकलाई स्मरण गराउन चाहन्छु ।