कवि शिरोमणि लेखनाथ पौडेलले तिहारको सौन्दर्य र महत्वलाई सटिक रूपमा व्यक्त गरेका छन्– “सुखमय पारी सब संसार, आयो प्यारो चाड तिहार !” शरद्–उत्सवको यो पर्व नेपालीको मन र आँगनमा उमङ्ग, प्रेम र उज्यालोको सन्देश लिएर आइपुग्छ । अन्न बाली स्याहारेर वर्षाको समाप्तिपछि धुमधामसँग मनाइने तिहारको स्वागत घरको लिपपोत, बाटो–घाटोको सरसफाइ र मर्मत, मठमन्दिरमा सजावट आदिले गरिरहेको भान हुन्छ । तिहार, जसलाई दीपावली, यमपञ्चक भनिन्छ, कात्तिककृष्ण त्रयोदशीदेखि कात्र्तिकशुक्ल द्वितीया अर्थात् पाँच दिनसम्म मनाइने यो पर्व सांस्कृतिक सामाजिक र आध्यात्मिक महोत्सव हो । नेवारी भाषामा ‘स्वन्ती’ अर्थात् तीन दिने चाड भनेर म्हपूजा, लक्ष्मीपूजा र भाइ पूजालाई महत्व दिएको देखिन्छ ।
हिमाल, पहाड, तराईदेखि विश्वभर छरिएका नेपाली डायस्पोरासम्म यो पर्वले सुख, शान्ति र समृद्धिको सन्देश बोकेर पुग्छ । नेवारी समुदायको ‘म्हःपूजा’ र तिहारको छ दिनपछि तराईको छठ पर्वले तिहारको माहोललाई थप भव्य र समावेशी बनाउँछ । वैदिक, बौद्ध, जैन, सिख समुदायमा समेत यो पर्व उल्लासमय रूपमा मनाइन्छ । बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता देशमा राष्ट्रप्रमुखले दीपावली विशेष कार्यक्रम आयोजना गर्न थालेको बर्सौं भइसकेको छ, जसले तिहारको विश्वव्यापी महत्व र सांस्कृतिक पहिचानलाई उजागर गर्छ ।
नेपालीको ‘तिहार’ शब्द जस्तै हिन्दी, गुजराती भाषामा ‘त्योहार’ वा ‘त्यौहार’ शब्द निकै चलनचल्तीमा छ । उता त्यौहारको अर्थ तिथि अनुसारको दिन वा उत्सव भन्ने सामान्य अर्थमा जुनसुकै पर्व–उत्सवमा व्यवहृत हुन्छ भने नेपालीमा यमपञ्चकसहितको दीपावली भन्ने अर्थमा चलनचल्तीमा छ । यद्यपि यी दुवै शब्दको उत्पत्ति संस्कृतको ‘तिथि+बार’ कालान्तरमा ‘तेवार,’ ‘तिहिवार’ हुँदै नेपालीमा तिहार बन्न पुगेको देखिन्छ ।
सांस्कृतिक सौन्दर्य र सामाजिक एकता
तिहार उज्यालोको पर्व हो, जसले बाह्य जगत् र अन्तर्हृदय दुवैलाई प्रकाशित गर्छ भन्ने मान्यता राखिएको पाइन्छन् । पद्मपुराणले दीपावलीलाई वैदिक यज्ञ अग्निहोत्रको निरन्तरताको रूपमा जोडेको छ । त्यहाँ दीपावलीलाई अन्धकारमाथिको विजय, अज्ञानताको नाश र समृद्धिको प्रतीकको रूपमा वर्णन गरिएको छ । शास्त्रहरूले भन्छनः “ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योन्र्मा अमृतं गमय” –असत्यबाट सत्य, अन्धकारबाट उज्यालो, मृत्युबाट अमरतातिर । तिहार यो मन्त्रको जीवन्त रूप हो, जसले ज्ञान, प्रेम, सौहार्द र आत्मिक जागरणको सन्देश दिन्छ । प्राचीन कालदेखि दीपप्रज्वलनको परम्पराले वैदिक कार्यहरूमा अपरिहार्य स्थान पाएको छ । घर, मठमन्दिर, चैत्य, ढुङ्गेधारा, पाटीपौवामा दीप बालेर सजाउने चलनले तिहारलाई सांस्कृतिक सौन्दर्य प्रदान गर्छ । गाउँ टोल, छरछिमेक एकजुट भएर गाउँठाउँ सरसफाइ र सजावट गर्ने उत्साहले तिहारलाई सामुदायिक पर्व बनायो । आधुनिकताको प्रभाव र रोजगारीका लागि युवाहरूको विदेश पलायनले यो परम्परामा केही सुस्तता नआएको होइन, आएको छ । तैपनि तिहारको रौनकले सामाजिक एकता र सांस्कृतिक निरन्तरताको भावनालाई जीवन्त राखेको छ ।
पशुपन्छी र प्रकृतिप्रतिको कृतज्ञता
तिहारको पहिलो दिन काग तिहार, प्रकृतिसँगको प्राचीन संवादको स्मृति हो । उहिले कागलाई समाचारवाहक मानिन्थ्यो; यसको बोली र हाउभाउले शुभ अशुभको सङ्केत दिन्थ्यो । “सुबोल सुबोल, भलो–भलो समाचार ले” भन्दै दुनाबोतामा दालभात, तरकारी र पक्वान्न राखेर कागलाई समर्पित गर्ने चलनले पशुपक्षीप्रति कृतज्ञता दर्शाउँछ । कागले फोहोर खाएर वातावरण शुद्ध गर्छ र बिहानै सबेरै आफ्नो काममा सक्रिय भई साँझ ठिक समयमा गुँडमा फर्कने दिनचर्याले अनुशासनको पाठ सिकाउँछ । दोस्रो दिन, कुकुर तिहारमा यमराजका दूत मानिने कुकुरको पूजा हुन्छ । कुकुरको बफादारी र संरक्षक स्वभावले मानव पशु सहअस्तित्वको महत्व उजागर गर्छ । प्राकृतिक विपत्मा कुकुरले मानव प्राणरक्षा गरेको उदाहरण विश्वभर प्रख्यात छ । यमदीप दानको यो दिनले यमयातनाबाट मुक्ति दिन्छ भन्ने विश्वास छ, जसले पशुहरूको सम्मानलाई आध्यात्मिक आयाम दिन्छ । यो पर्व उत्सवमा मात्रै होइन सदैव हुनुपर्ने अपेक्षाको सङ्केत पनि यसभित्र समाहित छ ।
लक्ष्मीपूजा : समृद्धिको झिलिमिली
तेस्रो दिन हुने लक्ष्मीपूजा, धन र ऐश्वर्यकी देवीको आराधना हो । आँगनमा रङ्गी–विरङ्गी मण्डल, सयपत्री, मखमली र गोदावरी फूलहरूले सजिएको घर, अन्धकारमाथि उज्यालोको विजयको प्रतीक बन्छ । परम्परागत रूपमा माटोको पालामा तोरीको तेल र धागोको बत्तीले उज्यालो गरिन्थ्यो; आज विद्युतीय मालाले यो परम्परालाई आधुनिक रूप रङ दिएको छ । पौराणिक कथामा, नरकचतुर्दशीमा भगवान् कृष्णले नरकासुरको वध गरेर संसारलाई मुक्ति दिएका थिए, यसैको स्मरणमा दीपावली मनाइन्छ भन्ने पनि कतै कतै चर्चा पाइन्छ । यो दिन बिहान तेल लगाएर नुहाउने चलनले शारीरिक र मानसिक शुद्धीको प्रतीक बन्छ । लक्ष्मीपूजामा अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत र चन्द्रमाको पनि पूजा हुन्छ, जसले पारिवारिक बन्धन र समृद्धिको सन्देश बोकेर आउँछ । फूलहरूको सुगन्ध र दीपको उज्यालोले वातावरणलाई मनमोहक बनाउँछ, जसले मन र आत्मालाई पनि शान्ति प्रदान गर्छ । तिहारमा दीपावली र फूलहरूको सजावट भएन भने कस्तो होला ? दीपावली र फूलबिनाको तिहारको कल्पनै गर्न सकिन्न । पद्मपुराण, उत्तरखण्डको चौबिसौँ अध्यायको आठौँ श्लोकमा कात्तिक अमावश्यमा लक्ष्मीको पूजा गर्नाले धनधान्य प्राप्त हुन्छ भन्ने कुराको उल्लेख गरेको पाइन्छ ।
गाई तिहार र गोवर्धन पूजा : प्रकृतिको सम्मान
चौथो दिन, गाई तिहार र गोवर्धन पूजा मनाइन्छ । भगवान् कृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको कथा, प्रकृति र गोवंशको संरक्षणको सन्देश बोकेर आउँछ । गोबरबाट पर्वत र कुण्ड बनाएर पूजा गर्ने चलनले सुख–शान्तिको प्रार्थना गर्छ । गाईलाई ‘गोधन’ र लक्ष्मीको स्वरूप मानिन्छ । गाईको दुध, दही, घिउ, गोबर र गहुँतको आयुर्वेदिक र पर्यावरणीय महìव विश्वप्रसिद्ध छ । गहुँत र गोबर प्राङ्गारिक मलका रूपमा खेतीमा उपयोगी छन् भने दुध र घिउले स्वास्थ्यमा योगदान पु¥याउँछ । वैतरणी नदी तर्न गाईको सेवा सहायक हुन्छ भन्ने शास्त्रीय मान्यताले यसलाई मातृतुल्य सम्मान दिन्छ । हिजोआज व्यावसायिक दोहन र गाईपालनमा कमीले गाईप्रतिको सम्मान घट्दै गएको छ । गाईको संरक्षण र परम्परागत पालनपोषणले पर्यावरण, स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्न सकिन्छ । नेवारी समुदायको ‘म्हःपूजा’ र नयाँ वर्षले आत्मसम्मान, आत्मचिन्तन र नवप्रारम्भको भावलाई राम्ररी जगाउँछ । यसभित्र आत्मचिन्तन, आत्मानूति र र ब्रह्मतत्वको दर्शन लुकेको छ ।
भाइटीका : स्नेहको अमर बन्धन
पाँचौँ दिन, भाइटीका, दिदीबहिनी र दाजुभाइबिचको स्नेहको अनुपम उत्सव हो । यमराज र यमुनाको कथाले यो दिनलाई यमपञ्चक बनायो । सप्तरङ्गी टीका, इन्द्रधनुष जस्तो उज्ज्वल र मखमली, सयपत्री, गोदावरीको मालाले सजिएको यो क्षण, दीर्घायु, स्वास्थ्य र सुखको कामना हो । दिदीबहिनीहरूले दाजुभाइलाई फलफूल, मेवा–मिष्ठान्न, कटुस, ओखर, काजु, किसमिस दिँदै आशीर्वाद दिन्छन् । दीप, गणेशको पूजन गर्दै तेल–पानीको धाराले सात फेरा लगाएर दाजुभाइलाई सँगै राखी देवस्वरूप मानी पूजन गर्ने, टीका लगाइदिने एवं दिदी–बहिनीले दाजु–भाइलाई सुख, शान्ति, उन्नतिको साथै दीर्घायुको आशीर्वाद दिने तथा दाजुभाइले दिदी–बहिनीलाई टीका लगाइदिई तत्पश्चात् गच्छे अनुसार दक्षिणा दिई ढोग्ने चलन विश्वमा दुर्लभ छ । दिदीबहिनीहीन दाजुभाइको पर्खाइ र रिक्तताले तिहारको करुण रसलाई उजागर गर्छ । काठमाडौँको रानीपोखरीमा ‘बालगोपाल’ मन्दिरमा गई उनैलाई दाजुभाइ सम्झेर पूजा गर्ने प्रचलन लामो समयदेखि चल्दै आएको छ ।
केही वर्षदेखि काष्ठमण्डपमा सामूहिक भाइटीका लगाइदिने परम्परामा स्वदेशी मात्र होइनन्, काठमाडौँ घुम्न आएका पर्यटक चाख मानी सहभागी हुने चलन जसरी बढ्दै गएको छ, यसले तिहारलाई जीवन्त र समावेशी बनाउँदै गएको देखिन्छ । काष्ठमण्डपबाट सुरु भएको सामूहिक भाइटीकाको यो चलन हिजोआज देशभर फैलिएको छ, जसले सामाजिक एकताको सन्देशलाई प्रवाह गरेको छ भन्दा फरक पर्दैन ।
देउसी–भैलो : सामाजिक सद्भावको सङ्गीत
तिहारको रौनकमा देउसी–भैलोले सांस्कृतिक अभिव्यक्तिको जीवन्त रूप प्रस्तुत गर्छ । लक्ष्मीपूजामा भैलो र गोवर्धन पूजामा देउसी खेल्ने परम्परा, पौराणिक बलिराजा र वामन अवतारको कथासँग जोडिन्छ । ‘देउ शिर’ भन्ने बलिराजाको दानवीरताले देउसीको प्रारम्भ भएको मानिन्छ । प्राचीन कालमा महिला भैलो र पुरुष देउसी खेल्थे, हिजोआज मिश्रित समूहहरूले यो परम्परालाई निरन्तरता दिएका छन् । केटाकेटीले तयार पारेका गीत, भाका र नृत्यले प्रतिभा प्रदर्शनको अवसर साथसाथै प्रदान गरिरहेको उत्साहबद्र्धक मानिन्छ । घरबेटीले देउसी–भैलेहरूलाई सेलरोटी, मिठाई र दक्षिणा दिई बिदा गर्छन्, जसले सामाजिक सद्भाव र मैत्री बढाउन मद्दत जानीनजानी मद्दत गरिरहेको हुन्छ ।
ऐतिहासिक र पौराणिक गहनता
श्रीरामको चौध वर्षको वनबासको क्रममा राक्षसराज रावणले मृत्युवरण गरेकोलाई असत्यमाथि सत्यको जितको खुसियालीलाई तिहारको दीपावलीले एकातिर सम्झाउँछ भने अर्कोतिर भगवान् विष्णुको वामन अवतार र बलिराजाको कथाले दानवीरता र धर्मको विजयको सन्देश दिन्छ । रामको अयोध्या फिर्ती र कृष्णको नरकासुर वधले तिहारलाई धार्मिक र सांस्कृतिक गहनता प्रदान गरेका छन्, साथै यी कथाहरूले तिहारलाई पौराणिक आधारमा उभ्याउँदै विश्वास र संस्कृतिको मिश्रण प्रस्तुत गर्न पुगेका छन् ।
समकालिक चुनौती र समाधान
आधुनिकताले तिहारको सरल र सादगीपनलाई चुनौती दिएको छ । जुवा, तास, अत्यधिक खर्च र पटाकाको प्रयोग जस्ता विकृतिहरूले पर्वको मौलिकतामाथि बेला बेलामा प्रश्न उठ्ने गरेको छ । पद्मपुराणमा उल्लेखित सन्देश अनुसार, तिहारलाई रचनात्मक, सिर्जनात्मक र सामाजिक सन्देशसहितले हितकारी बनाउनु पर्छ । माटोको दीप, घरेलु मिठाई, स्थानीय फलफूल र कटुस, ओखर जस्ता प्राकृतिक उपहारको प्रयोगले आर्थिक र पर्यावरणीय सन्तुलन कायम गर्छ । सामाजिक सञ्जाल र प्रविधिको उपयोगले टाढा रहेका परिवारलाई आजभोलि सजिलैसँग जोड्न सकिने भएको छ । तिहारलाई पर्यावरणमैत्री र समावेशी बनाउन, सामुदायिक कार्यव्रmम, सांस्कृतिक प्रदर्शनी र स्थानीय उत्पादनको प्रवर्धनमा जोड दिनु पर्छ । यस्ता प्रयासले तिहारको सांस्कृतिक धरोहर जोगिनुका साथै राष्ट्रिय उन्नति सम्भव हुन्छ ।
तिहारको सामाजिक र आर्थिक आयाम
तिहारले प्रकृतिका उपहारहरूको मूल्य सिकाउँछ । जङ्गली कटुस, ओखर, निबुवा जस्ता फलहरू, जुन अन्य समयमा उपेक्षित हुन्छन्, तिहारमा मूल्यवान् बन्छन् । यो पर्वले हरेक प्राकृतिक वस्तुको उपयोगितालाई उजागर गर्छ । स्थानीय बजारमा फूल, मिठाई र हस्तकलाको व्यापारले आर्थिक गतिविधिलाई प्रोत्साहन दिन्छ । यसले देशको जिडिपीमा ठुलो भरथेक गर्न सक्छ । तिहारको सामुदायिक भावनाले गाउँटोलमा सहकार्य र एकताको संस्कृतिलाई बलियो बनाउँछ । साथै, देउसी–भैलीबाट सङ्कलित रकम सामाजिक कार्यमा उपयोग हुँदा, पर्वले समाजसेवाको भावनालाई पनि प्रेरित गर्छ ।
उज्यालोको यात्रा, जीवनको सच्चा उत्सव
तिहार उज्यालोको पर्व मात्र होइन; यो प्रेम, सौहार्द, प्रकृति र आत्मिक जागरणको उत्साहबर्धक उत्सव हो । कागको पूजाले हामीलाई मृत्युपछि पनि सम्मानको सन्देश दिन्छ, कुकुरको पूजाले निष्ठा र बफादारीको महìव सिकाउँछ, गाईको पूजाले जीवनदायिनी प्रकृतिप्रति कृतज्ञता जगाउँछ । यी सबैबाट लक्ष्मीपूजा र भाइटीकासम्मको यात्राले प्रकृति, परिवार र आत्मसम्मानलाई अटुट रूपमा जोड्छ । दीपावलीको झिलिमिलीले बाह्य अन्धकार मात्र होइन, हाम्रो आन्तरिक मनको अज्ञान र नकारात्मकतालाई पनि हटाउने हुनु पर्छ, जसले गर्दा हामी वास्तवमै साँचो उज्यालोतर्फ अघि बढ्न पाइला चाल्ने छौँ ।
यो पर्वको सच्चा सुन्दरता सरल र सादगी, सात्त्विकता र पर्यावरणमैत्री दृष्टिकोणमा लुकेको छ । प्लास्टिकका मालाबत्ती होइन, प्राकृतिक माटोका दियोहरू बालेर, प्लास्टिकका नक्कली फूल होइन, प्राकृतिक फूलका मालाहरूले सजाएर, पटाका पड्काएर होइन, आफू, परिवार, समाज, राष्ट्र र विश्वको कल्याणको कामनासाथ मनाउँदा तिहारपर्वले समाजमा शान्ति, समृद्धि र एकता ल्याउँछ । कल्पना गर्नुहोस् – यदि हरेक घरमा यस्तो सरल र सादगीले भरिएको तिहार मनाइयो भने, हाम्रो हिमालदेखि तराईसम्मको वायु शुद्ध हुन्छ, नदीहरू स्वच्छ रहन्छन्, र जीवजन्तुहरू सुरक्षित रहन्छन् । यति मात्र होइन, यसले हाम्रो स्वास्थ्यलाई पनि मजबुत बनाउँछ, सात्त्विक भोजनले शरीर स्वस्थ, प्रेमपूर्ण व्यवहारले मन शान्त हुन्छ ।
हरेक वर्ष तिहारले हामीलाई सम्झाएको हुन्छ–जीवनलाई सत्य, प्रेम र उज्यालोको मार्गमा हिँडाएर मात्र सच्चा उत्सव मनाउन सकिन्छ । यो पर्वको यो शाश्वत सन्देशले हामीलाई संस्कृति, प्रकृति र मानवताप्रति जिम्मेवार बनाओस् । अब प्रश्न आउँछ, तपाईं यो तिहार कसरी मनाउनुहुन्छ ? के तपार्ईंले प्लास्टिकका फूल होइन प्रकृतिको सुन्दर रचना फूल र फूलको मालालाई प्रश्रय दिई प्रकृतिको सम्मान गर्नुहुन्छ ? वा परिवारसँग भाइटीकामा मात्र होइन, वर्षभरि अरूलाई पनि प्रेम, भ्रातृत्व, स्नेह, सद्भावको सम्बन्ध जोड्दै जानुहुन्छ ? यही तिहारबाट सुरु गर्नुहोस् यो यात्रा – एउटा सानो कदमले ठुलो परिवर्तन ल्याउँछ । तिहारको उज्यालोले नेपाल र नेपाली तथा विश्वमा शान्ति र समृद्धिको दीप प्रज्वलित होस् । शुभ तिहार ! सबैको कल्याण होस् !