रमेश विश्वकर्मा
गुल्मी, कात्तिक २ गते । हिन्दूहरुको दोस्रो महान पर्व तिहारसुरु भएसँगै गुल्मीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल रेसुङ्गाधाम चौतारामा विशेष उत्साह देखिएको छ । रेसुङ्गा संरक्षण समितिले परम्परागत रुपमा गरिँदै आएको गौपूजा, लक्ष्मीपूजा र गोवर्धन पूजालाई यस पटक निकै भव्य र व्यवस्थित रुपमा मनाउने तयारी थालेको हो ।
कात्तिक ४ गते परेको गौपूजा औंसीका अवसरमा रेसुङ्गाधामको चौतारा गौशालामा विविध धार्मिक अनुष्ठान, भजन–कीर्तन, पूजाआजा, आराधना तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । सो दिन बिहानैदेखि भक्तजनहरुले चौतारामा रहेका गाईहरुको दर्शन गरी नुन खुवाउने, गो–ग्रास अर्पण गर्ने, मुष्ठिदान प्रदान गर्ने र अक्षयकोषमा योगदान दिने अवसर पाउनेछन् । विगतका परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रमलाई भव्य र अनुशासित रुपमा सम्पन्न गर्न संयोजक सहितको पूजा व्यवस्थापन समिति बनाइएको उहाँले बताउनुभयो ।
गाई, गंगा, गणेश, गीता र गायत्री हाम्रा धार्मिक धरोहर हुन् । यीनीहरूको संरक्षणबाट मात्र राष्ट्रको कल्याण हुन्छ र आफ्ना पितृहरूको उद्धार सम्भव हुन्छ । यस कार्यक्रमको तयारीमा हाल चौतारा गौशालामा गाई गोठको मर्मत–सम्भार, रंगरोगन, सरसफाइ, पूजास्थल निर्माण र गो–ग्रासका लागि घाँस काट्ने चापकटर मेसिन जडानजस्ता कार्यहरु तीव्र गतिमा भइरहेको समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले बताउनुभयो ।
त्यस अवसरमा रेसुङ्गा संरक्षण समितिका मानार्थ, श्रेयस्कर, अति विशिष्ट, विशिष्ट, आजीवन सदस्य, अक्षयकोषदाता, मुष्ठिदाता तथा रेसुङ्गा र गौ माताको सम्मान र आदर प्रकट गर्ने समस्त भक्तजन, सरकारी कार्यालय, संघसंस्था, आमा समूह, विद्यालय, क्लब, सहकारी, वन उपभोक्ता समितिलगायत सम्पूर्ण धार्मिक, श्रद्धालु भक्तजनहरुलाई उक्त धार्मिक कार्यक्रममा व्यापक सहभागिता जनाइ सफल बनाउन रेसुङ्गा संरक्षण समितिले आग्रह गरेको छ । वि.सं. २०४२ सालमा चौतारामा गौशाला स्थापना गरिएको हो । हाल यस गौशालामा १५० भन्दा बढी गाईहरुको संरक्षण भइरहेको समितिले जनाएको छ ।