• ३० असार २०८१, आइतबार

कालजयी गीत मृत्युको स्वर

blog

जातस्य हि ध्रुवो मृत्युर्ध्रुव जन्म मृतस्य च ।

तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।

जन्मेपछि मर्नै पर्छ सबैलाई थाहा छ तर मान्छेले बेला बेलामा मर्नु पर्छ भन्ने कुरो नै बिर्सन्छ । जन्म–मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । मानिसको जन्मपछि कालक्रम अनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचव्रmको नियमित प्रक्रिया हो । 

मानिसले मृत्युका बारे जति सोचे पनि र मृत्युलाई टार्न जति नै प्रयास गरे पनि कवि लेखनाथले भने झैँ ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ जस्तै मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि । यस सन्दर्भमा भन्नैपर्ने एउटा अर्को कुरा चाहिँ के हो भने चिन्तन शक्तिकै कारण मानिस मृत्युभयबाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ । मरिने जीवन बारेको चिन्तनभन्दा पनि मानिस मृत्युभयबाट जति आक्रान्त छ, त्यति न यसैले जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश जानकारले मृत्युचिन्तन गरेकै  छन् । मृत्युका बारेमा अरूले पनि बुझून्, सुनून् र जानून् भनेर गीतकारले गरेको मृत्यु चिन्तन रचना अथवा बोधलाई सङ्गीत भरेर गायकले सुमधुर स्वरमा मृत्यु गुनगुनाउँछ अर्थात् गाउँछ र हामी एकोहोरो हुन पुग्छौँ ।

नेपाली गीत/सङ्गीतमा कालजयी मानिएका कतिपय गीतमा मृत्युका बारेमा चिन्तन गरिएको पाइन्छ । अझ भनौँ मृत्यु गाइएको पाइन्छ र ती गीत सुन्दा हामी आफूलाई मृत्युको बोध भएको अनुभूति गर्छौं । विश्वचर्चित ‘ग्लुमिङ सन्डे’ गीत सुनेर आत्महत्या गरेकादेखि गीत गाउने कलाकारले नै मृत्युवरण गरेका कथा, कहानी र सत्य हामी माझ छँदै छ । मृत्युको आश भनौँ कि त्रासलाई नेपाली कालजयी गीतमा यसरी प्रयोग गरिएको छ । तिनको सङ्क्षिप्त चर्चा यहाँ गरिएको छ :

मास्टर मित्रसेन थापाको रचना र स्वरमा 

माटोको यो देह बनेको

पाप धर्मतिरै छ जनेको राम्रो भनी किन भनेको ...२

पातमाथिको पानी बतासले उडाई लैजाने किन....

सबैले तिमीलाई साथी भन्छन् मतलबैसम्म जाति भन्छन .....२

पैसा छँदासम्म सुसारा गर्छन ...२ 

मरेको हेरी डराउने अनि भूत भनी नजिकै नआउने किन....

मानव शरीरलाई माटोले बनेको र क्षणभरमै निस्कने सासपछि मृत्युका बारेमा भनिएको छ । बाँचुञ्जेल गुनगान गर्नेहरू पनि मरेपछि भूत बन्छ भनेर डराउने प्रसङ्गको चर्चा गर्दै गीतले मृत्युपछिको भय र बदलिने अवस्थालाई प्रस्तुत गरेको छ ः

कोही अमीर धन, मान, सन्तान बढाइलेला

आखिर छोडी यो सब जाने छ त्यो अकेला ...

रचना स्वर कोइलीदेवीको यो गीतले पनि यो सांसारिक जीवनको धन, मान सन्तान जे भए पनि एकदिन सबै छोडेर उर्फ मरेर जान्छ भन्ने भाव व्यक्त गरेको छ । 

सङ्गीत र रचना गोपाल योञ्जनको रहेको ‘जीवनदेखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर’ भन्ने गीतमा जीवनदेखि हारेर, थाकेर मरेको कुराबाट पनि मृत्युलाई अँगालेको प्रसङ्ग प्रस्तुत गरिएको छ : 

आजै र राति के देखेँ सपना मै मरी गएको 

बतास बिना हाँगाको फूल भइँ झरी गएको

मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको

कहाँ हो कहाँ बादलभित्र म रोइरहेको....

रचना माधव घिमिरे तथा स्वर सङ्गीत नारायणगोपालको गीतले सपनामा समेत मरेको कल्पना प्रस्तुत गरेका छन् । मृत्युको कल्पना र अवस्थालाई गीतमा प्रस्तुत गरी झकझकाएको कुरालाई गीतमा समेटिएको छ :

मरिगए रेलिमाई दैवको काखैमा 

बाँचुञ्जेल रेलिमाई प्यारीको आँखैमा...

गीतको सङ्कलन गोपाल योञ्जन, स्वर र सङ्गीत पुष्पा नेपाली र गोपाल योञ्जनको रहेको यस गीतमा मरिगए दैवको काखमा पुगिने किंवदन्तीलाई चित्रण गर्दै बाँचुञ्जेल प्यारीको काखैमा रहने इच्छा व्यक्त गर्दै मृत्युपछि पनि दैवको काखमा पुगिने कुराको चित्रण गरिएको छ ।

त्यस्तै रचना सङ्गीत शरण प्रधानको रहेको अरुणा लामाले गाएको गीतमा दुई दिनको जिन्दगी यो धेर नहोला, या के भरोसा मरिजानु बेर नहोला... भन्ने गीतमा जीवनको समय धेरै नभएको प्रसङ्गसहित जीवनको भर नभएकाले मर्नु पर्ने अवस्थाको चित्रण गरिएको छ । रचना तीर्थरत्न तुलाधार, सङ्गीत नातिकाजी र फत्तेमान राजभण्डारीले गाएको :

मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न

वसन्तको हरियाली फूलसँगै ओइली जान्छ

अत्यन्तै चर्चित रहेको यस गीतले जनमानसमा निकै प्रभाव पारेको छ । मर्न सजिलो छ, मृत्युको मूल्यबोध गर्दै जीवनलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । रचना, सङ्गीत र स्वर योगेश वैद्यको ‘कसलाई दोष दिउँ दोषी कोही त होइन मृत्युको सामु झुक्नु पर्दो रहेछ आखिर’ भन्ने गीतले मृत्युको सामु झुक्नुपर्ने मान्छेको नियतिलाई प्रस्तुत गरिएको छ । रचना श्रीविव्रmम राणा र स्वर, सङ्गीत दीपक जङ्घमको प्रस्तुत गीतमा यस्तो भनिएको छ ः

हर फूल पातलाई पतझडको मर्म एउटै 

म पनि त झर्नु पर्छ तिमी झर्ने बोटबाटै ...

मृत्युको नियमित प्रक्रियालाई जोडिएको छ । यस गीतबाट पनि सृष्टिपछिको विलयको कथा जोडिएको छ :

जीवन भनुँ त घात छ मृत्यु भर्नु त सास छ 

दोधारमा बाँचु कति हर प्रीतमा चित्कार छ

न बास छ, न आँसु छ मान्छेहरूकै त्रास छ

जहाँ म खोज्छु उठूँ भनेर त्यहीँ असारे भास छ ...

यो रचना दिनेश अधिकारी, सङ्गीत नबर्स छिरिङ र स्वर भक्तराज आचार्यको गीतमा जीवनलाई घातका रूपमा हेर्दै मृत्यु पनि भन्न नसकिने र जीवन पनि भन्न नसकिने दोधारको अवस्थालाई चित्रण गर्दै मृत्यु भनेको सासविहीन अवस्थाको परिकल्पना गरिएको छ । त्यस्तै मरिजाने उर्फ झरिजाने जीवनलाई आफू मरे पनि तिमी हाँसि दिनु भन्ने अवस्थालाई यसरी प्रस्तुत गरिएको छ ः

म रोए पनि तिमी हाँसिदिनु

यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु

कहिलेकाहीँ ती मिलनका यादहरू आए भने

सपना सम्झी त्यसलाई बिर्सिदिनु... 

गुलाम अलीले गाएका मबिबी शाहको तल उल्लेखित गीतमा कसैलाई दिन जीवनको कुनै कोसेली नरहेको, दुई थोपा आँसु पनि पोखियो भन्ने कुरालाई सम्बोधन गर्दै आफ्नो मरेको शरीरलाई प्रियसीको नासो भएकाले लासलाई चिहानमा लगेर पुरिदिन भनेका छन् ।

के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर 

ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर 

बुझेर लेउ तिम्रै हो नासो मरेको शरीर

लास यो मेरो मसान लगी पुरिदेउ खनेर....

आफैँ मरे पनि देशको माया छ भन्ने भावलाई गीतकार लक्ष्मण लोहनीले म मरे पनि मलाई यो देशको माया छ, यो छातिभरि मुरीका मुरी नेपालको माया भन्दै चन्द्रराज शर्माको सङ्गीतमा नारायणगोपालले गाउनुभएको छ । त्यस्तै हरिभक्त कटुवालले रचना गर्नुभएका र स्वर सङ्गीत दीपक जङ्घमको रहेको गीतमा मान्छे भोकभोकै मरिरहेको र मान्छेलाई खानेकुरा नदिई मरेको प्रसङ्गमा ढुङ्गा उर्फ देवतालाई भोग दिएकोमा आक्रोश व्यक्त गरिएको छ ः

वेदनाको आँसुभरि रुझी दिने को छ र

भिबी मन किन रायो बुझी दिने को छ र

केले पा¥यो भुमरीमा गति रोज्ने डुङ्गालाई 

मान्छे मर्छ भोकभोकै भोग मिल्छ ढुङ्गालाई....

त्यस्तै रवीन्द्र शाहद्वारा रचित गीत झरेको फूलसङ्ग्रहमा सङ्गृहीत गीत ढलेको रात हुँ म बिहानी निराश छ जलेको प्राण हुँ म जवानी उदास छ, जलेको शरीरसँग तुलना गरेका छन् । मृत्युपछि श्रद्धाको फूल उर्फ श्रद्धाञ्जलीको कामना गर्दै रवीन्द्र शाहकै रचना र स्वर सङ्गीत नारायणगोपालको गीतमा यसरी प्रस्तुत गरिएको छ ः

श्रद्धाको फूल चढाइदिनु आएर लासमा

नपाए फूल भैगयो तिमी रोइदिनु आसमा...

यो गीतले मृत्युपछिको श्रद्धाञ्जली या आँसुको समवेदना व्यक्त गर्न आग्रह गरेको छ । कालीप्रसाद रिजालले रचना गरेका स्वर नारायणगोपालको रहेको यो गीतमा जिन्दगी झर्नुसँग मृत्युको परिकल्पना गरिएको छ ः

झ¥यो जिन्दगी फुट्यो जिन्दगी

छल्केर आँखामा बग्यो जिन्दगी 

काँडामा हाँसेको मीठो जिन्दगी

सपनीमा नाचेको झुठो जिन्दगी

मर्नु र झर्नुसँग जीवनलाई जोडेर यथार्थ र परिकल्पनामा भिन्न हुने कुरालाई प्रस्तुत गरिएको छ । वर्तमान समयमा निकै लोकप्रिय प्रभाव रहेको कृष्णहरि बरालको शब्द, गैरे सुरेशको सङ्गीत र प्रेम परियार, स्वरूपराज आचार्य र रजिना रिमालले गाएको गीतमा मृत्युको शाश्वत पक्षको चित्रण गरिएको छ । मर्ने रहर नहुँदा नहुँदै पनि मर्नै पर्ने सत्य र यथार्थलाई यस गीतले फेरि सम्झाएको छ । कतै गए पनि, कुनै लुके पनि भागे पनि मृत्युको पन्जाबाट कोही बँच्न सक्दैन भन्ने मृत्यु सत्यलाई यस गीतले प्रस्तुत गरेको छ :

मर्ने कसैलाई रहर हुँदैन

तर नमरेको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन

जिन्दगीको के भर छ र ? आज यहाँ भोलिको पर,

कुमार कान्छाले गाएको गीतले पनि जिन्दगीको भर नभएको अवस्थालाई प्रस्तुत गरेको छ  । यसरी नेपाली गीत÷सङ्गीतमा मृत्युचेतलाई प्रस्तुत गर्दै मृत्युको सत्य र शाश्वत पक्षको प्रतिविम्बन गरिएको शब्द सङ्गीत मध्याह्नको रहेको कर्णदासद्वारा गाइएको गीतमा भर नभएको जिन्दगी, हाँसो र रोदनका रूपमा प्रस्तुत गर्दै मृत्युको बोधलाई सम्झाउन खोजिएको छ ः

जिन्दगीको के भरोसा

यो त सानो खेलौना हो

दुई आँखामा  एकमा हाँसो अर्कोमा रुवाइ छ.....

जिन्दगीको के छ र भर

अजम्बरी को नै छ र भावीले लेखेको....

शब्द, सङ्गीत सुरज गैरेको गीतले सृष्टि उर्फ जन्मपछिको मृत्युलाई अजम्बरी कोही नभएको र मर्ने तिथिमिति भावीले लेखिसकेकाले अवश्य मर्ने पर्ने कुरालाई व्यक्त गरेको छ । 

सृष्टिको सुन्दर रचना, यो माया मोहमा जेलिएको संसारमा नाता सम्बन्ध जोडेर ईश्वर उसैले नै तोडेको घटना र प्रसङ्गलाई नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यमा समाविष्ट ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्, सृष्टिको फूल रचेर त्यस्तो कसरी तलारिस्, त्यो फूल हरे मलाई दिई कसरी पछारिस् भन्दै मृत्युको चित्रण र त्यसले पारेको शून्य प्रहरको चर्चा गरिएको छ । यसरी नेपाली कालजयी गीतमा मृत्युका विभिन्न प्रसङ्गको प्रस्तुतिले मृत्यु सत्यबाट कोही भाग्न सक्दैन भन्दै मृत्युको स्वर गुञ्जिरहेको अनुभूत गर्न सकिन्छ ।