• ४ असार २०८१, मङ्गलबार

अपाङगता भएकालाई घरमै नागरिकता

blog

अपाङगता भएको छोराको नागरिकता लिनुहुँदै आमा उषा भाट

बिन्दु थापा 

पाल्पा, जेठ ३२ गते । तानसेन नगरपालिका वडा ११ का प्रतिक भाट २३ बर्षको पूर्ण अपाङ्गता भएका नागरिक भएकाले उहाँलाई जिल्ला प्रशासन कार्यालय पाल्पाले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । 

अपाङ्गता भएका नागरिक पनि नागरिकताबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । 

आमा उषा भाटको दुई छोरा एक छोरीमध्ये जेठो छोरा पूर्ण अपाङ्ग भएर नागरिकता बनाउन प्रशासन आउन नसक्ने भएपछि वडाको पहलमा घरमै गएर नागरिकता प्रदान गरिएको हो । 

अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने हुँदा उहाँहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकताबिहीन नहोउन् भनेर अभियानको थालनी गरिएको तानसेन नगरपालिका ११ का वडा अध्यक्ष्य यादवसिंह कार्कीले बताउनुभयो । 

कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा अभियान सञ्चालन हुनु सकारात्मक भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

स्थानीय अम्मर रानाले जिल्ला प्रशासन र वडाको अभियानले अपाङ्गता भएका नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु नपर्ने बताउनुभयो ।