• १२ साउन २०८१, शनिबार

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, जेठ ३२ गते । मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध तीन लाख ९१ हजार ९२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मनहरी गाउँपालिकाको वडा नम्बर ६ स्थित लोथर–हाङ्गलाङ्ग–फरिवाङ्ग–पाङ्गथली सडक स्तरोन्नतिको क्रममा माटो कटिङमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो । 

२३५९२.३२ घनमिटर मात्र माटो कटिङ्गको कार्य भएकोमा नापी किताबसँग भए गरेको कामको तुलना गर्दा ८३३८.९३ घनमिटर कम भएको देखिएकोले यथार्थभन्दा बढी मूल्यांकन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरीतको कार्यलाई गुणस्तरयुक्त वा मापदण्ड बमोजिम भए गरेको हो भनी झुटा नापी किताब, बिल भरपाइ, मूल्यांन तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको आरोप लागेको छ ।

चौलागाईसहित गाउँपालिकाका तत्कालीन इन्जिनियर अमित कुमार ठाकुर र प्रतिक्षा निर्माण सेवाका निर्माण व्यवसायी बुद्धिराज कँडेलविरुद्ध तीन लाख ९१ हजार ९२९ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।