• २ साउन २०८१, बुधबार

नमुना गाउँपालिका बनाएरै छाड्छु

blog

सप्तरीका १८ स्थानीय तहमध्ये रूपनी गाउँपालिका पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकको सुविधाप्राप्त गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरमा उदयपुर, पश्चिममा शम्भुनाथ नगरपालिका, दक्षिणमा राजविराज नगरपालिका, विष्णुपुर, राजगढ गाउँपालिका र पूर्वमा अग्निसाइर कृष्णा सवरन गाउँपालिका पर्छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले गर्नुभएका काम र आगामी योजनाबारे गोरखापत्रका सप्तरी समाचारदाता देवरामप्रसाद यादवले उहाँसँग गर्नुभएको कुराकानी :

जिम्मेवारी समालेको दुई वर्ष अवधिलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?  

मैले यी दुई वर्षलाई अनुभव र जानकारी हासिल गर्ने वर्षका रूपमा लिएको छु । विगतमा सञ्चालनमा आएका प्रभावकारी र महŒवपूर्ण कार्यव्रmम तथा योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । जनताको काम गर्न निर्वाचित भएकाले रातदिन नभनेर जनसेवामा खटिँदा आफूलाई आनन्द अनुभूति पनि भइरहेको छ । गत दुई वर्षमा हामी ऐन, कानुन र कार्यविधि निर्माणमा बढी केन्द्रित भयौँ ।  यो अवधिमा गाउँपालिकाको सम्पूर्ण अवस्था मूल्याङ्कन गर्ने र त्यसलाई कसरी सुधार गरेर अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न वा जानकारी लिनमै समय बित्यो । यसअघिको टिमले ऐन, कानुन र कार्यविधिको अभावमा काम गरे पनि सधैँ त त्यसरी चल्न सक्दैन भन्ने लागेर हामीले त्यतातर्फ बढी ध्यान दिएका हौँ । यो अवधिमा हामीले आवश्यक धेरै जसो ऐन, कानुन र कार्यविधि बनाउन सफल भएका छौँ । ती नीति, नियम, ऐन र कानुनका आधारमा अबका दिनमा जनताका आवश्यकता पूरा गर्ने योजना र कार्यव्रmम बनाउन तथा कार्यान्वयन गर्न सहज र सरल हुने छ ।    

निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ के कस्ता काम भइरहेका छन् ?

हामीले चुनावका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्ने कार्यको सुरुवात गरेका छौँ । यहाँका किसानको जीवनस्तर सुधार गर्न कृषिमा विद्युतीकरणको काम सुरु भएको छ । अब किसानका खेत खेतमा विद्युत् जडान हुन्छ । एक परिवार एक बोरिङ उपलब्ध हुने छ । ग्रामीण बेरोजगार महिलाका लागि सिप र रोजगारीसहितको एकीकृत योजना ल्याउने तयारी गरेका छौँ । अब परिणाम देखिने गरी काम हुने छ ।

विद्यालय शिक्षा सुधारका लागि के गरिरहनुभएको छ ?  

विद्यालय सुधार, विद्यालयलाई टिनको छानामुक्त बनाउने विषय उच्च प्राथमिकतामा राखिएको छ । पहिले जस्तो शिक्षकमा अनुशासनहीनता र विद्यालय नै नआई तलब खाने परिपाटी अन्त्य भएको छ । अहिले शिक्षक विद्यालयमा नियमित उपस्थिति हुने गरेका छन् । म आफैँ विद्यालयको अनुगमनमा निस्कन्छु । पहिले त दिवा खाजामा पनि चरम भ्रष्टाचार हुँदो रहेछ । अहिले ती सबै विकृति रोकिएका छन् । गाउँपालिकाभित्रका १३ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन्छ । आधा दिनको पढाइपछि विद्यालयबाट भाग्ने व्रmम रोकिएको छ । विद्यालयवरिपरि सुर्तीजन्य सामग्री बेचबिखनमा प्रतिबन्धका साथै १८ वर्षमुनिका बालबालिकालाई खरिद गर्नमा समेत प्रतिबन्ध लगाइएको छ । 

गाउँपालिकाका जीर्ण र साँघुरा सडक सुधारका लागि के गर्दै हुनुहुन्छ ? 

हामी निर्वाचित भएर आएपछि सङ्घ, प्रदेश र पालिकाको समेत बजेटबाट सडक ढलान, नयाँ सडक निर्माण गरेका छौँ । सडक साँघुरो हुने, कुनै मापदण्ड नहुने र सडकमै वस्तुभाउ बाँध्ने, घाँस, दाउरा, गोबर र अन्य सरसामग्री थुपार्ने मधेशको चलन नै हो । सडक चौडा पार्न ठुलो चुनौती छ तर पनि हामीले सडक चौडा पार्ने काम सुरु गरेका छौँ । चेतनाको कमीले गर्दा सडकमा फोहोर गर्ने गरिएको छ । चेतना अभिवृद्धि गर्दै त्यस्ता समस्या समाधान गर्दै छौँ । गाउँपालिका  क्षेत्रका मुख्य सडकदेखि सहायक सडकलाई फराकिलो गर्दा पालिकावासीको घरटहरा, बार, टाटी हटाउन केही ठाउँमा समस्यालाई समाधान भएर गएको छ । घरटहरा, टाटी हटाउन वादविवाद तथा कार्य अवरोधलाई व्यवस्थापन गर्दै अगाडि बढेका छौँ । सबैसँग समन्वय गरेर सबैलाई सम्झाएर, बुझाएर सडक फराकिलो गरिएको छ ।

सामाजिक न्यायतर्फ के काम भइरहेको छ ? 

सामाजिक न्यायका लागि उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समिति प्रभावकारी देखिएको छ । न्यायिक समितिमा आइपुगेका मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउन सफल भएका छौँ । सामाजिक माहोल बनाउन शान्तिपूर्ण रूपमा अगाडि बढ्दा नै भौतिक विकास सार्थक रूपमा अगाडि बढ्ने भएकाले यस क्षेत्रमा पनि अपेक्षाकृत राम्रै काम भएको छ । भौतिक विकास र सामाजिक न्याय भएको नमुना गाउँपालिका बनाउने हाम्रो साझा लक्ष्य छ । न्यायिक समितिमा आएको उजुरीमा अधिकांश मेलमिलापतर्फ गएको छ । केही मेलमिलाप हुन नसकेका उजुरी अदालत जाने गरेका छन् । हालसम्म कुनै ठुलो समस्या आइपरेको छैन । 

कर्मचारी र जनप्रतिनिधिबिच समन्वय कस्तो छ ? 

धेरै जसो स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबिच खटपट हुने गरेको सुनिन्छ । मैले गाउँपालिकाको कामकाज सञ्चालन गरिरहँदा अहिलेसम्म कुनै मनमुटाव र विवाद हामीबिच आएको छैन । हालसम्म कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौँ । 

काम गर्दा कस्ता कस्ता चुनौती सामना गर्नु परेको छ ?  

स्थानीय सरकारसँग जनताको अपेक्षा असाध्यै धेरै रहेको पाएको छु । धेरैतिरबाट धेरै प्रकारका विकासको चाहना राखिएका हुन्छन् तर बजेटको सीमितताले गर्दा माग र योजना अनुसारको कार्य गर्न नसकिने वास्तविकता छ ।  

 यसबाहेक राजनीतिक आस्थाका आधारमा ससाना विषयमा नागरिकलाई भ्रममा पारेर गलत सन्देश प्रवाह गर्न खोजिन्छ । अहिले त राजनीतिलाई व्यापार बनाउने प्रवृत्ति पनि बढेको छ । नेताले निजी स्वार्थका लागि अनावश्यक घुसपैठ गरिदिँदा काम गर्न अप्ठ्यारो पर्छ । मधेशमा काम गर्नेलाई राजनीतिक हिसाबले हातखुट्टा बाँधेर कामै गर्न नदिने र अरूलाई असफल पारेर आफू सत्तामा पुग्ने प्रपञ्च पनि हुन्छ । मैले यी सबै कुराको पर्बाह नगरी काम गरिरहेको छु । आमनागरिकले साथ दिएकै छन् । मेरो कार्यकालमा गाउँपालिकालाई जिल्लाको एक नमुना गाउँपालिकाका रूपमा विकास गरेरै छाड्छु ।

स्वास्थ्य सेवाका लागि के के काम भएको छ ? 

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । वडा नं. ६ को तेरहोता र वडा नं. १ को रूपनीमा बर्थिङ सेन्टर स्थापना गरेर प्रसूति सेवा दिइरहेका छौँ । स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिकका लागि महिनाको पाँच दिन घुम्ती शिविर, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रवाहलगायतका काम गरिरहेका छौँ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ । 

गाउँपालिकामा के कस्ता समस्या र चुनौती पाउनुभयो त ?

रूपनी गाउँपालिकामा किसानको बसोबास धेरै भएकाले कृषि क्षेत्र नै हाम्रो प्राथमिकतामा छ । आकासे पानीको भरमा खेतीपाती गर्दै आएका किसानका लागि सिँचाइ सुविधा अगाडि बढाएका छौँ । सङ्घीय सरकारबाट कृषिमा विद्युतीकरणका लागि दुई करोड रुपियाँ आएकाले विद्युतीकरणको कामका लागि ठेक्का लागिसकेको छ । भौतिक संरचना निर्माणमा सडक, पुल, पुलेसालगायतका काममा तीव्रता दिइएको छ । पालिकाले सुरुवाती समयदेखि नै पर्यटन पूर्वाधार निर्माण, संरचनाको मर्मतसम्भारका कार्य गर्दै आइरहेको छ । पर्यटकीय स्थलहरू शनिदेव मन्दिर, रूपनीदेवी मन्दिर, मानपुर दास रामजानकी मन्दिर, दिनाभद्री मन्दिर, कोइली दहको धार्मिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगिने छ । त्यस्तै पर्यटकको बसाइ लामो गराउने गरी हामीले वातावरण निर्माण गरेका छौँ । त्यसका लागि होटल व्यवसायीलाई हस्पिटालिटी र कुकिङ तालिम दिने काम भएको छ ।

गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन र स्थलगत अनुगमन गरेको छ । अनियमिततालाई कसरी रोक्नुहुन्छ ?

अख्तियारको टोली आएर आयोजना अनुगमन गरी मेरो आँखा पुग्न नसकेको ठाउँमा निगरानी गरेर गाउँपालिकाको सम्पूर्ण टिमलाई सचेत गराएको छ । यसले मलाई सहयोग भएको छ । योसँगै कामै नगरी भुक्तानी लिन चाहनेलाई पनि सजग गराएको मैले ठानेको छु ।

गाउँपालिकाबाट जनताले पाउने सेवा सुविधा कति सहज बनाइएको छ ?

जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न प्रत्येक कर्मचारीलाई समय समयमा निर्देशन दिँदै आइरहेको छु । तसर्थ जनताको कामकाज सहज, सरल तथा नियमानुसार छिटोभन्दा छिटो गर्न विषयगत कर्मचारीलाई सजग बनाइरहेको छु । कुनै पनि बहानामा जनतालाई दुःख दिने काम गाउँपालिकाबाट हुँदैन । सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धालगायतलाई नजिक पर्ने बैङ्कबाट पनि भत्ता पाउने व्यवस्था गरेको छु । 

प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य कस्तो छ ?

प्रदेश र सङ्घीय सरकारलार्य हामीले प्रस्ट रूपमा भनेका छौँ, हामीलाई दिने ससर्त अनुदान र अन्य बजेट वडाबाटै सिफारिस भए अनुसारको हुनु पर्छ । ती योजना जनताका समस्या समाधानका लागि हुनु पर्छ । कुनै नेता र व्यक्तिविशेषले टिपाएको र सिफारिस गरेको आधारमा अनुदान र बजेट दिने परिपाटी अन्त्य हुनु पर्छ । स्थानीय सरकारसँग समन्वय नै नगरी बजेट र योजना पठाउने काम पनि भएको छ । यस्तो काम रोकिनु पर्छ । केन्द्र र प्रदेशबाट पठाइने योजना स्थानीय सरकारको माग र आवश्यकताका आधारमा हुनु पर्छ ।