• ७ कात्तिक २०८१, बुधबार

कोशीमा ‘बिगबोल्डर स्लोप’ बाँध निर्माण

blog

गाईघाट समाचारदाता

गाईघाट, जेठ ३२ गते । कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खाँेचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि ‘बिगबोल्डर’ अर्थात् ठुला ढुङ्गा राखेर कटान रोकथामको काम गरिएको छ ।

दुई वर्षपहिले सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको सो लाहुरे खोँचस्थित डुम्रीबोटे क्षेत्रमा जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिगबोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम गरिएकोमा यो वर्ष पनि सोही प्रकृतिको बिगबोल्डर बाँध बनाइएको हो ।

सो स्थानभन्दा तलबाट कटान गरी कोशी पुनः गाउँतिर पस्ने खतरा बढेकाले तत्काल रोकथामका लागि पुनः बिगबोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको कार्य गरिएकोे बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो । 

गाउँतिर बाढी पसेको २३ दिनपछि कोशीमा पानीको बहाव घटेको अवस्थामा अघिल्लो वर्ष स्थानीय जनश्रमदानसहित बेलका नगरपालिकाको सहयोगमा करिब दुई सय मिटर लामो अस्थायी तटबाँध निर्माण गरेर स्थानीयले तत्कालका लागि कोशीको कटान कम गर्न सफल भएका थिए । 

कोशीको प्रवाहलाई किनारातिर ठोक्किएर दबाब कम गरी कटान नियन्त्रण गर्न अघिल्लो वर्ष लगाइएको बिगबोल्डर प्रभावकारी भएकाले अहिले पनि त्यस प्रकारको नदी कटानको प्रवाहलाई नियन्त्रण गर्न सोही किसिमको बिगबोल्डरको अस्थायी बाँध बनाइएको कोशी तथा बव्रmाहा नदी व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चव्रmविव्रmम सिंहले बताउनुभयो ।

यो वर्ष भने कोशीको पानीभित्र पाँच मिटर चौडाइ र तीन मिटर उचाइका ठुला ठुला ढुङ्गा खसालेर करिब ५० लाख रुपियाँको लागतमा १२७ मिटर बाँध बनाइएको हो । जसमा जमिनभन्दा माथि दुई मिटर उचाइ हुने र टपमा पाँच मिटर चौडाइ रहने गरी स्थानीय उपभोक्ता समितिमार्फत निर्माणको काम भएको आयोजना प्रमुख सिंहले बताउनुभयो ।

तर स्थायी प्रकृतिको तटबाँध नहुँदासम्म यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेकाले करिब पाँच सय घरपरिवार पुनः विस्थापित हुन सक्ने भन्दै दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न सक्ने खालको बाँध बनाइएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण थापाले बताउनुभयो ।

सप्तकोशीको बाढीबाट विगतका वर्षमा बेलका नगरपालिका–२, ३, ८, ९ र सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ का गरी करिब दुई हजार पाँच सय घर प्रभावित बनेकोमा पाँच सय परिवारलाई  तत्काल अस्थायी आवासको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो । 

सो क्षेत्रमा थप तटबाँध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुवासीको सुरक्षाका लागि थप बजेटको आवश्यक परेको र तत्कालका लागि चार करोड रुपियाँको लागत स्टिमेटसहित आवश्यक बजेट वयवस्थापन गर्न नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा फाइल पेस गरिएको भए पनि अहिलेसम्म सो कामका लागि रकम सुनिश्चित भने हुन नसकेको आयोजना प्रमुख सिंहले बताउनुभयो । 

कोशी कटानको जटिल समस्याले जीवन र मरणको दोसाँधमा बाँचिरहेका त्यस क्षेत्रका गरिब तथा विपन्न किसानको कष्टकर दैनिकीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयबाट बेवास्ता गर्ने गरेकाले समस्या झन् जटिल र खर्चिलो बन्दै गएको प्राविधिकको भनाइ छ ।