• ९ असार २०८१, आइतबार

‘शास्त्र परिवर्तन गर्नुपर्ने’

blog

काठमाडौँ, जेठ ३२ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार दिउँसो चलचित्र हेरेपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताउनुभयो । उहाँले ‘पुजार सार्की’ हेर्दाहेर्दै म भावुक भएको र कतिपय प्रसङ्ग आफैँसँग पनि मिलेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ । यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ । धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ ।”

उहाँले भन्नुभयो, “म आफैँले पनि मेरो नाम बाबुराम कामी भन्नूस् भनेर संसद्मा नै भनेको थिएँ । यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नुभएको छ । यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुले नै साथ दिनु पर्छ ।”