• १२ मंसिर २०८१, बुधबार

कक्षा अवरोध हुने कार्यक्रम नगर्न गाउँपालिकाको आग्रह

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ ३० गते । गुल्मीको एक पालिकाले विद्यालय कक्षा सञ्चालनमा अवरोध हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । पछिल्लो समय कक्षा सञ्चालनमा अवरोध हुनेगरी नै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएको गुनासो आएसँगै यस जिल्लाको कालिगण्डकी गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

यस गाउँपालिका क्षेत्र भित्र रहेका विद्यालयमा विद्यालयको कार्यक्रममा सहकार्य गरी गरिने कार्यक्रम बाहेक पढाइ सञ्चालन भएको समयमा विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम गर्न नहुने प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । 

पठनपाठनलाई प्रभाव पार्ने बाहिरी कुनै पनि कार्यक्रम गर्न नहुने भन्दै यस्ता कार्यक्रमलाई रोक्न गाउँपालिकाले यहाँका सबै विद्यालयमा पत्र पठाएको उहाँले बताउनुभयो ।

प्रायः गाउँमा कुनै पनि कार्यक्रम गर्नका लागि विद्यालयकै ग्राउन्ड प्रयोग हुने त्यसैमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम धेरै दिनसम्म सञ्चालन हुने हुँदा विद्यालयमा कक्षा सञ्चालनमा अवरोध हुने गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । 

विद्यार्थीको शिक्षण सिकाइमा ठुलो असर पुग्ने हुँदा यस्तो निर्णय गरिएको भन्दै उहाँले विद्यालयमा सहज रूपमा अध्ययन अध्यापन गराउनका लागि गाउँपालिका सधैँ तयार रहेको बताउनुभयो ।