• १३ साउन २०८१, आइतबार

भरतपुरमा भित्रिन्छ करिब १२ अर्ब विप्रेषण

blog

फाइल तस्बिर

नारायणगढ (चितवन), जेठ ३० गते । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रिने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो ।

सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक ३२ हजार छ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उहाँले बताउनुभयो ।  वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ । विदेशबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार नौ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिनुुभयो । एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका उहाँले बताउनुभयो ।  

विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताउनुभयो । सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्ललेख्य रहेको भन्दै उहाँले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गर्नुभयो । उहाँले  ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएकोे जानकारी दिनुभयो । 

छयानब्बे हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिनुभयो । रासस