• २९ फागुन २०८२, शुक्रबार

गुणस्तरहीन संरचना भत्काएर पुनर्निर्माण सुरु

blog

पुलको भत्काइएको गुणस्तर हिन भाग । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन २७ गते ।
तनहुँको व्यास नगरपालिकाको वडा नम्बर–३ को देउरालीनगर र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दीखोला पुलको निर्माण कार्यले पछिल्लो समय गति लिन थालेको छ । लामो समयको अन्योल र प्राविधिक अवरोधपछि हाल पुलको ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । निर्माणका क्रममा यसअघि गरिएको एक ‘स्पान’ को बिम र ढलान गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर अहिले नयाँ शिराबाट पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँका डिभिजन इन्जिनियर रवीन्द्र तिवारीका अनुसार पुलका पिल्लरहरू प्राविधिक रूपमा सही भए पनि माथिल्लो संरचना कमजोर देखिएकाले गुणस्तरमा सम्झौता नगर्ने नीतिअनुरूप भत्काउन निर्देशन दिइएको थियो। सोही निर्देशनबमोजिम ठेकेदार कम्पनीले गुणस्तरहीन भाग हटाएर अहिले निर्माण कार्यलाई तीव्रता दिएको हो । वि.सं. २०७७ सालमा ५ करोड १० लाख ३३ हजार रुपियाँको लागतमा सम्झौता भएको २५ मिटर लामो र ८.४ मिटर चौडाइको यो पुल निर्माणमा यसअघि विभिन्न कारणले ढिलाइ हुँदै आएको थियो ।

पुल निर्माणमा मुख्य बाधाका रूपमा रहेको व्यास–१ विज्ञानचौर तर्फको विद्युत् ट्रान्सफर्मर स्थानान्तरण गरिएसँगै काम गर्ने वातावरण सहज बनेको छ । ट्रान्सफर्मर हटाएपछि निर्माण कम्पनीले जनशक्ति र उपकरण परिचालन बढाएकाले हाल कामले गति लिएको कार्यालयले जनाएको छ । पुलको म्याद आगामी चैतसम्म रहेको भए पनि पछिल्लो समय काममा देखिएको तीव्रताका कारण बाँकी निर्माण सम्पन्न गर्नका लागि म्याद थप हुने सम्भावना समेत देखिएको तिवारीले बताउनुभयो ।

यो पुल निर्माण सम्पन्न भएपछि व्यास–१, २ र ३ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । विशेष गरी यस क्षेत्रमा रहेका पाँचवटा विद्यालय र एक कलेजका विद्यार्थीहरूलाई वर्षायाममा खोला तर्नु पर्ने बाध्यता अन्त्य हुनेछ ।