लुम्बिनी प्रदेश ब्युरो
बुटवल, फागुन २७ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर खसेको कुल १९ लाख ५२ हजार ८६४ मतमध्ये एक लाख दुई हजार ९५६ मत बदर भएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशभर करिब ५.२७ प्रतिशत मत बदर भएको छ । जिल्लागत विवरण हेर्दा औसतमा झन्डै पाँच प्रतिशत मत बदर भएको पाइएको छ भने कपिलवस्तु जिल्लामा सबैभन्दा बढी बदर मत रहेको मतगणना विवरणले देखाएको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार बदर मतको मुख्य कारण मतदाता शिक्षाको कमजोर प्रभाव हो । धेरै मतपत्रमा एउटै मतदाताले दुई वा दुईभन्दा बढी उम्मेदवारलाई मत सङ्केत गरेको पाइएको छ । मतपत्रमा सही तरिकाले मतदान गर्ने तरिका बारे पर्याप्त जानकारी नपुग्दा यस्तो समस्या देखिएको बताइएको छ ।
स्थानीयस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा पर्याप्त चेतना नपुगेको देखिन्छ । देशभरका छ हजार ७४३ वडामा एकैसाथ सञ्चालन गरिएको अभियान अन्तर्गत लुम्बिनी प्रदेशका सबै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।
त्यसै गरी पाल्पामा प्रत्यक्षतर्फ चार प्रतिशतभन्दा बढी मत बदर भएको छ । पाल्पा–१ मा ४.४१ प्रतिशत र पाल्पा–२ मा ३.९७ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल चार हजार ७९८ मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ पनि तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । समानुपातिकतर्फ तीन हजार ७३४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
बर्दियामा पनि झन्डै पाँच प्रतिशत मत बदर भएको पाइएको छ । बर्दिया निर्वाचन क्षेत्र नं. १ मा पाँच हजार ८८० र क्षेत्र नं. २ मा चार हजार ४४८ मत बदर भएको छ । क्षेत्र नं. १ मा एक लाख ६८ हजार ३४ मतदाता रहेका भए पनि एक लाख दुई हजार ४९८ मत खसेको थियो । तीमध्ये ९६ हजार ६०९ मत मात्र सदर भएको छ भने पाँच हजार ८८० मत बदर भएको छ ।
त्यसै गरी क्षेत्र नं. २ मा एक लाख ५५ हजार २३२ मतदाता रहेकामा ९२ हजार ६१८ मत खसेको थियो । तीमध्ये ८८ हजार १३० मत सदर हुँदा चार हजार ४४८ मत बदर भएको छ । समानुपातिकतर्फ पनि उल्लेख्य मत बदर भएको छ । क्षेत्र नं. १ मा ९८ हजार ११६ मत खसेकामा पाँच हजारभन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेमा १३ हजार मत बदर
प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुअघि बाँके जिल्लाका आठ वटै पालिकामा मतदाता शिक्षा प्रदान गरिए पनि सो शिक्षा प्रभावकारी भएको देखिएन । जिल्लामा यस पटक पनि धेरै ठुलो सङ्ख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा गरेर यस पटक १३ हजार ४४२ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँकेमा १५ हजार ३३५ मत बदर भएकोमा सो तुलनामा यस पटक केही कम देखिए पनि धेरै फरक नपरेको बताउनुभयो ।
निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कुल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ७२ हजार सातमध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नम्बर ३ मा कुल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।
(रेखीराम राना–पाल्पा, ज्योति पन्थी–बबई, सिराज खान–नेपालगन्जको सहयोगमा)