गाईघाट समाचारदाता
गाईघाट, फागुन २७ गते । कुनै समय मानिस हिँडडुल गर्न पनि कठिन हुने गरेको अनकन्टार जस्तो मानिएको कोठु र सोमबारे क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको क्षेत्र बन्दै गएका छन् । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने चतारास्थित सप्तकोशीमा पक्की पुल र मदन भण्डारी मार्गको निर्माण भएसँगै उदयपुरको बेलका नगरपालिका–८ मा पर्ने यी क्षेत्र पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् । बेलका नगरपालिकामा पर्ने साबिक मैनामैनीको कोठु क्षेत्रमा होटेल खुलेसँगै यस क्षेत्रको ग्रामीण बजारमा चहलपहल हुने थालेको स्थानीयको भनाइ छ ।
सप्तकोशीको माछा, बरमजियाको पेडा, पहाडको कोदोको ढिँडो र लोकल कुखुराको सुपलगायतका परिकार खान मानिसहरू टाढा टाढाबाट आउने गरेको छन् । स्थानीय होटेल व्यवसायी बताउँछन् ।
स्थानीय वन्डर होटेल कोशीछेउका सञ्चालक राज बान्तवाका अनुसार सो क्षेत्रमा सानाठुला गरी करिब चार दर्जन होटेल खुलिसकेका छन् भने अझै केही खुल्ने व्रmम अझै जारी छ । कोशीको मनोरम बहाब तथा वारिपारिका सुन्दर प्राकृतिक दृश्यालोकनसँगै त्यहाँको स्थानीय परिकारले जोसुकैको मन लोभ्याउने गरेको होटेल व्यवसायी बान्तवा बताउनुहुन्छ । उहाँले दुई वर्षपहिले नै ४० लाख रुपियाँको लागतमा आवाससहितको होटेल सञ्चालन गरेको बताउनुभयो ।
स्थानीय होटेल व्यवसायी ईश्वर गुरुङका अनुसार चतरावारि सोमबारे, कोठु, रङ्गमहल क्षेत्रमा अहिले धेरै राम्रा होटेल सञ्चालनमा आएका छन् । सलल बगेको सप्तकोशीको सङ्लो पानीको बहाब हेर्दै किनारमा बसेर वनभोज खानेदेखि जेटबोट चढेर वराहक्षेत्र घुम्न जानेसम्मको अवसर र कोशीमा पाइने स्थानीय जातको माछा यस क्षेत्रका होटेलको मुख्य आकर्षक बनेको अर्का व्यवसायी तिकल राईको भनाइ छ ।
होटेल व्यवसायी रमण भट्टराई भन्नुहुन्छ, “सुनसरीको वराहक्षेत्र र उदयपुरको मैनामैनीबिचमा पर्ने चतरा कोशी प्रदेशको नमुना पर्यटकीय गन्तव्य बन्न सक्छ । यहाँ घुम्न आउने पर्यटकले पहाडको खोँचबाट तराईको फाँटमा फुत्त निस्किएको सप्तकोशीको सुन्दर र आकर्षक दृश्यमा लोभिने गरेका छन् ।”
भारतको पूर्णियाबाट परिवारसहित घुम्न आएका अमित गुप्ताले यो क्षेत्र साँच्चै प्रकृतिको अनुपम उपहार भएको र नमुना पर्यटकीय केन्द्र बन्न सक्ने प्रचुर सम्भावना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस क्षेत्रमा पर्यटनको राम्रो पूर्वाधार विकास र प्रचारप्रसार भएमा भारतीय पर्यटकको कुनै कमी हुने छैन ।”