• २९ फागुन २०८२, शुक्रबार

सफा र सुन्दर घोराहीका लागि बृहत् सरसफाइ

blog

घोराही बजार क्षेत्रमा सरसफाइ गर्दै प्रहरी तथा निर्वाचन प्रहरी। तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन २७ गते ।
घोराही बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। ‘सुरक्षित, सफा र सुन्दर दाङ, सभ्य नागरिकको पहिचान’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम गरिएको हो।

घोराही उपमहानगरपालिका, ज्वाला दल गण घोराही तथा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस घोराहीको समन्वयमा घोराही बजारका विभिन्न स्थानमा सरसफाइ गरिएको थियो।

कार्यक्रमको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नागरिकको स्वास्थ्यसँगै बजारको सुन्दरतालाई ध्यानमा राख्दै सरसफाइमा विशेष चासो दिन नगरवासीलाई आग्रह गर्नुभयो। उहाँले प्रत्येक घरधनीले आफ्नै घरअगाडि सरसफाइ गर्नुपर्ने र सार्वजनिक स्थानको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो।

यसरी सबैले जिम्मेवारी लिएर काम गर्न सके बजारलाई सफा र सुन्दर राख्न सकिने तथा बाहिर पनि सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो। स्थानीय तहको सक्रियताले नागरिकमा सरसफाइप्रति जागरुकता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले घोराहीमा सरसफाइ अभियानलाई निरन्तरता दिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो।

घोराहीको सहिदगेटबाट सुरु भएको सरसफाइ कार्यक्रम तुलसीपुर चोक, न्यू रोड, बैंक रोड र सहिद लखन थापा पार्कलगायतका क्षेत्रमा सञ्चालन गरिएको थियो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ घोराही सिटी, त्रिभुवननगर जेसीज, रोटरी क्लब अफ दाङ तथा द लोटस ट्रेनिङ सेन्टरको सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।