• १२ साउन २०८१, शनिबार

प्रधानाध्यापकसहित चार जनाविरुद्ध रकम हिनामिना गरेको आरोप

blog

काठमाडौं, जेठ ३० गते । सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध चार लाख ६० हजार ४५५ रुपियाँ रकम हिनामिनाको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदानस्वरुप जिल्ला शिक्षा कार्यालयको निर्णय बमोजिम शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयको खातामा जम्मा भएको रकमबाट भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यसँग मिलेमतो गरेको आरोप लागेको छ ।

खरिद नै नगरिएका पुस्तकहरु खरिद गरिएको भनी झुटा बिल भरपा बनाए एवम् सम्झौता हुनु अगाडि नै विद्यालयमा खदिर भएको ल्याप्टपको बिलसमेत सङ्लग्न राखी पुस्तकालय व्यवस्थापनका लागि अनुदान प्राप्त सरकारी रकम हिनामिना भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल, शाक्य प्रेस अफसेट प्रेस चैनपुर, सङ्खुवासभाका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना तथा सजायको मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएकाे आयोागले जनाएको छ ।