• १३ साउन २०८१, आइतबार

विद्यालयमा ‘अभिभावक शुल्क’

blog

दुल्लु समाचारदाता

दैलेख (दुल्लु), वैशाख १४ गते  । यहाँको ठाटीकाँध गाउँपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थीबाट अभिभावक शुल्क असुल्दै आएका छन् । निजी स्रोतका शिक्षकलाई तलब दिनका लागि ती विद्यालयले मासिक एक सय रुपियाँदेखि चार सय रुपियाँसम्म अभिभावक शुल्क असुलिरहेको बताइएको छ ।

ठाटीकाँध गाउँपालिका–४ को चुली आधारभूत विद्यालय, देवती माध्यमिक विद्यालय, वडा नम्बर ६ को बालकल्याण आधारभूत विद्यालय, मालिका माध्यमिक तथा जनता आधारभूत विद्यालयले विद्यार्थीबाट शुल्क असुल गरिरहेको बताइएको छ । 

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाए पनि सामुदायिक विद्यालयले शिक्षाका नाममा पैसा उठाउनु संविधानविपरीत भएको स्थानीयको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधिले कार्यकर्ता पाल्नका लागि आफूखुसी शिक्षक राख्दा अभिभावकलाई थप भार परेको ठाटीकाँधवासीको भनाइ छ ।

मावि सञ्चालन भएका विद्यालयले कक्षा ६ देखि शुल्क असुल्ने गरेका छन् भने आधारभूत विद्यालयले कक्षा १ देखि नै शुल्क उठाइरहेका छन् । निःशुल्क पाउने शिक्षामा शुल्क लिने गरेको स्थानीयको आरोप छ । गाउँपालिकाबाट सय मिटरको दूरीमा रहेका विद्यालयमा कक्षा १ देखि नै मासिक शुल्क चार सय उठाउने गरेको गाउँपालिकाका कर्मचारी बताउँछन् । ठाटीकाँध जन आधारभूत विद्यालयका अभिभावक मात्र होइन ठाटीकाँध–४, गैरागाउँका खम्बबहादुर कठायतका चार सन्तान देवती माविमा अध्ययनरत छन् । उनीहरूले मासिक सात सय रुपियाँ बुझाउनुपर्छ । 

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा गुणस्तरीय शिक्षा दिनका लागि अभिभावकको मन्जुरीअनुसार नै शुल्क लिने गरेको मालिका माविका प्रधानाध्यापक धीरबहादुर शाहीले बताउनुभयो ।