• १२ साउन २०८१, शनिबार

गिद्ध प्रजनन केन्द्र बन्द गरिने

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख १४ गते । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गरिने भएको छ । केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेको र प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएपछि बन्द गर्न लागिएको हो । १४ वर्षअगाडि स्थापना गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । तीन वर्षदेखि कुनै पनि चल्ला नकोरलेपछि केन्द्रका विषयमा छलफल भएको थियो । 

प्रकृतिमै गिद्ध धेरै हुन थालेको र प्रजनन केन्द्र पनि प्रभावकारी नभएपछि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । सन् २००८ मा स्थापना भएको केन्द्र अन्डा र गिद्ध ल्याएर सुरु गरिएको थियो । १४ वर्षमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टहरूमार्फत कार्यक्रम गर्न लागिएको हो । हाल प्रजनन केन्द्रमा १० वटा मात्र गिद्ध छन् । केही समयपछि त्यहाँका १० गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्टमा लैजाने तयारी छ । ती गिद्धलाई केही महिना त्यहीँको खोरमा राखेपछि खुला छाडिनेछ ।

आचार्यका अनुसार आगामी साउनसम्ममा प्रजनन केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अन्डा पारे पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिम रूपमा गरिएको प्रजननभन्दा प्राकृतिक रूपमा प्रभावकारी देखिएपछि प्रकृतिमै संरक्षणमा जोड दिइएको हो । सन् २०१५ मा सात अन्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अन्डाबाट नौवटा बच्चा कोरलिए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अन्डाबाट छवटा बच्चा कोरलिएको थियो ।

सन् २०१८ मा २० वटा अन्डाबाट दुईवटा बच्चा कोरलिएकोमा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ वटा र २० मा १४ अन्डा पारे पनि बच्चा कोरल्न सफल नभएको निकुञ्जले जानकारी दिएको छ । गतवर्ष गिद्धले १२ वटा अन्डा पारे पनि बच्चा कोरल्न सकेन । बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमै अन्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ ।