• १२ साउन २०८१, शनिबार

मध्य र पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने

blog

काठमाडौँ, जेठ २९ गते । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबार दिउँसो महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको हो ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । सोमबार मात्र टीकापुर र धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस मापन भएको थियो ।

सोमबारबाट पूर्वी नेपालबाट मनसुन भित्रिए पनि फैलन सकेको छैन, जसकारण गर्मी लम्बिएको हो ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

यसैगरी, तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।