• १२ असार २०८१, बुधबार

ब्रोवार्ड काउन्टीको पिचले सशङ्कित नेपाल र श्रीलङ्कन टोली

blog

श्रीलङ्काविरुद्धको खेलअघि आफ्नो धारणा राख्दै नेपालका कप्तान रोहित पौडेल । तस्बिर : गोरखापत्र

अमेरिका (फ्लोरिडा), जेठ २९ गते । मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने ।

अमेरिकामा जारी विश्वकपमा बनिरहेको रनले अहिले विश्वका हस्ती टेस्ट टोलीलाई हैरान बनाएको छ । विशेषगरी डालासको ग्रान्ड पिएरे र न्युयोर्कको नासुवा काउन्टी स्टेडियमको पिचमा बनेको रन र नतिजाले अधिकांश टोलीलाई हम्मेहम्मे पारिरहेको छ । 

आइसिसी टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार बिहान फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । ब्रोवार्ड काउन्टीमा हुने नेपाल र श्रीलङ्काबिचको खेल विश्वकपको यस मैदानमा हुन लागेको पहिलो खेल हो । 


अमेरिकाकै पुरानो यस मैदान दुवै टोलीका लागि नौलो मानिएको छ । पिचको बारेमा दुवै टोली अनविज्ञ रहेकोले नतिजा कसको पक्षमा जान्छ भन्ने यकिन गर्न नसकिने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बताउनुभयो ।

‘‘नेदरल्यान्ड्ससँग डालासमा सोचेजस्तो गर्न सकेनौँ । फ्लोरिडाको पिचको कन्डिसन अलि राम्रो छ । हामी यस पिचमा सुधारिएको प्रदर्शन गर्दै टेस्ट टोलीलाई हराएर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ । तर श्रीलङ्कालाई हल्का र कमजोर आँकेका छैनौ । विश्वकप जितिसकेको श्रीलङ्का सन्तुलित टोली हो । हामी बलिङ र ब्याटिङमा सुधार गर्दै जित्नका लागि खेल्नेछौँ । हाम्रो क्षमता अनुसार खेल्यौँ भने जस्तो टिमलाई पनि हराउन सक्छौँ । अहिले हामीलाई भन्दा श्रीलङ्कालाई बढी दबाब छ,’’ रोहितले भन्नुभयो । 

नेपालले श्रीलङ्काको सिनियर टोलीसँग खेल्न लागेको यो पहिलो पटक हो । समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपाललाई अगाडि बढ्ने सम्भावना कायम राख्न श्रीलङ्कालाई हराउनु पर्नेछ । 

यता अघिल्ला दुई खेलमा लगातार हार खेपेको श्रीलङ्कालाई सुपर आठको यात्रा जीवित राख्न नेपाललाई हराउनै पर्ने बाध्यता छ । श्रीलङ्का विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । त्यसैले श्रीलङ्काविरुद्धको जितले नेपाललाई राहत मिल्नेछ भने हारले श्रीलङ्का बाहिरिने छ । 

पाँच टोली सम्मिलित समूह ‘डी’ मा रहेको नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ ।

डालासमा जस्तै श्रीलङ्काविरुद्धको खेलमा पनि नेपाललाई समर्थको उल्लेख्य साथ रहने अनुमान गरिएको छ । १४ हजार दर्शक क्षमता रहेको ब्रोवार्ड काउन्टी स्टेडियममा आउने अधिकांश दर्शक नेपाली मूलका हुनेछन् । तर बुधबारको खेलमा वर्षा बाधक हुनसक्ने पूर्वानुमान पनि रहेको छ । 

यस्तै श्रीलङ्काका बलिङ प्रशिक्षक अकिव जावेदले सबै खाले अन्तर्राष्ट्रिय खेल खेल्न दबाब हुने भएकोले नेपालविरुद्ध खेल्न सहज नहुने बताउनुभयो ।


‘‘यस पटकको विश्वकप सोचेभन्दा फरक भइरहेको छ । टेस्ट टोली र एसोसिएटको प्रदर्शनमा खासै फरक छैन । पिचको कन्डिसनले सशङ्कित बनाइरहेको छ । यस विश्वकपको सुन्दर पक्ष भनेको जसले जसलाई पनि हराउन सक्नु हो । पिचलाई बुझेर जसले रन बनाउन सक्छ उसैले जितिरहेको छ,’’ खेलअघि मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जावेदले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस मैदानमा जसले रन बनाउन सक्छ, उसैको पल्ला भारी हुनेछ । नेपालविरुद्धको खेल गुमाएमा श्रीलङ्काका लागि घातक हुनेछ । श्रीलङ्काको बलियो पक्ष भनेको आक्रामक बलिङ हो । तर अहिलेको अवस्थामा केही भन्न सकिन्न ।’’

समूहमा अहिले लगातार तीन खेल जितेको दक्षिण अफ्रिका ६ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा हरेको बङ्गलादेश र नेदरल्यान्ड्सको दुई खेलबाट समान दुई अङ्क छ । एक खेल सकेको नेपाल र दुई खेल सकेको श्रीलङ्का अङ्कविहीन छ । 

सन्दीपको आगमनले उत्साह

नेपालका कप्तान रोहित पौडेलले सन्दीप लामिछानेको टोलीमा आगमनले उत्साह थपेको बताउनुभएको छ । 

‘‘सन्दीप दाइले वेस्ट इन्डिजमा खेल्ने पक्का भएपछि हामी उत्साहित बनेका छौँ । उहाँले यहाँ खेल्न पाउनुभएन । तर उहाँले क्यारावियन लिग खेलिसकेकोले वेस्ट इन्डिजको पिचबारे उहाँलाई राम्रो ज्ञान छ,’’ रोहितले भन्नुभयो । 

सन्दीप सहभागी भएपनि नेपाली टोलीमा १४ जना खेलाडी रहने रोहितले स्पष्ट पार्नुभयो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा भएको समूह चरणको दुई खेल गुमाउनुभएको थियो ।

विश्वकप खेल्न सोमबार वेस्ट इन्डिज पुग्नुभएका सन्दीप टोलीमा समावेश हुने भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले युवा बलर प्रतिशत जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको छ ।