• १३ असार २०८१, बिहिबार

एमाले र गठबन्धनको प्रतिस्पर्धा

blog

धादिङ समाचारदाता

धादिङ, वैशाख १४ गते । धादिङमा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले एक्लै उम्मेदवारी दिएको छ ।

गठबन्धनमा रहेको काँग्रेसले आठ पालिका प्रमुख र चार उपप्रमुख, नेकपा माओवादीले तीन प्रमुख र पाँच उपप्रमुख, समाजवादीले दुई प्रमुख र चार उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीमप्रसाद ढुङ्गाना, खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । 

गङ्गाजमुनामा भक्तबहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा राजु उप्रेती, ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै, सिद्धलेक गाउँपालिका अध्यक्षमा परशुराम खतिवडा, थाक्रे गाउँपालिका अध्यक्षमा रामप्रसाद बिडारीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले अध्यक्ष पद पाएको रुवीभ्याली गाउँपालिकामा रामसिंह तामाङ, बेनीघाट रोराङमा कृष्णबहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबन्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दीपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरासुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्रबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै गठबन्धन गर्दा भागबन्डामा नपरेका पालिकाहरूमा पनि काँग्रेस, माओवादी र समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । वडा तहसम्म नै तालमेल गर्ने भनेर पालिकाहरूको भागबन्डा मिलाइए पनि मनोनयन दर्ता गर्ने बेलासम्म वडा तहमा सहमति नजुटेपछि सबै पदमा उम्मेदवारी दिइएको माओवादी धादिङका अध्यक्ष मनराज भण्डारीले बताउनुभयो । “अहिलेलाई मनोनयन दर्ता गरेका छौँ, पछि वडा तहको सहमति भयो भने मनोनयन फिर्ता लिएर पनि निर्वाचनमा सहभागी हुन सक्छौँ,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

गठबन्धनकै तर्फबाट समाजवादीले धुनीबेँसी नगरपालिकाको प्रमुखमा बालकृष्ण आचार्य र गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएको छ । समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्मबहादुर अर्याल, बेनीघाट रोराङ गाउँपालिकामा टापबहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिकामा सबिता अर्याल र गङ्गाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएको छ । 

समाजवादीले गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारै जना नयाँ अनुहार हुन् । प्रदेशस्तरीय पाँचदलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुङ्गो लगाएर त्यहीअनुसार मनोनयन दर्ता गराइएको काँग्रेसका सभापति रामनाथ अधिकारीले बताउनुभयो । 

नेकपा (एमाले)ले नीलकण्ठ नगरपालिकाको प्रमुखमा गङ्गादेवी श्रेष्ठ र उपप्रमुखमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएको छ । एमालेले धुनीबँेसी नगरपालिकाको प्रमुखमा रामराजा पाण्डे र उपप्रमुखमा मन्दिरा श्रेष्ठ, अध्यक्ष र उपाध्यक्षमा क्रमशः थाँक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्रविक्रम बस्नेत र अम्बिका खतिवडा, बेनीघाट रोराङमा देवप्रकाश त्रिपाठी र हीरादेवी रेग्मी, सिद्धलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै ज्वालामुखीमा अध्यक्षमा हरिराम लोहरी र उपाध्यक्षमा चन्द्रकुमारी अधिकारी, त्रिपुरासुन्दरीमा अध्यक्षमा उमेश थापा र उपाध्यक्षमा सङ्गीता कुमाल, नेत्रावती डबजोङमा अध्यक्षमा सुवर्ण रिमाल र उपाध्यक्षमा बीनाकुमारी मम्बा, गङ्गाजमुनामा अध्यक्षमा भक्तबहादुर लामिछाने र उपाध्यक्षमा एन्जिला तामाङ, खनियाबासमा अध्यक्षमा इमान तामाङ र उपाध्यक्षमा खुर्पीकुमारी तामाङ तथा रुवीभ्यालीमा अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मञ्जु तामाङलाई उम्मेदवार बनाएको छ ।