• १२ असार २०८१, बुधबार

प्रगाढ सम्बन्धको अपेक्षा

blog

विश्वको दोस्रो ठुलो जनसाङ्ख्यिक एवं सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतको १८ औँ लोक सभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त भएपछि नरेन्द्र दामोदरदास मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । लोक सभाका ५४३ सदस्यका लागि अप्रिल १९ देखि जुन ७ सम्म सात चरणमा सम्पन्न निर्वाचनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) लाई २९३ सिट प्राप्त भयो । एनडिए संसदीय दलका नेता मोदीले आइतबार नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिनुभयो । शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको उपस्थितिले गरिमा वृद्धि गरेको अनुभव गरिएको छ । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदी सन् २०१९ को लोक सभा निर्वाचनमा पुनः बहुमत प्राप्त गर्न सफल भएपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । भारतको इतिहासमा प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बन्ने दुर्लभ सौभाग्य मोदीलाई प्राप्त भयो । 

भारतीय लोक सभामा मोदी नेतृत्वको एनडिए गठबन्धनले सन् २०१४ मा भाजपाको २८२ सहित ३३६ सिट र सन् २०१९ मा भाजपाको ३०३ सहित ३५२ सिटमा जित हासिल गरेको थियो । यस पटक अपेक्षाकृत परिणाम प्राप्त नभए पनि गठबन्धनलाई स्पष्ट बहुमत हासिल हुनुले मोदी नेतृत्वबाटै भारतले समृद्धि हासिल गर्न सक्छ भन्ने भारतीय जनताको विश्वासलाई पुनर्पुष्टि गरेको छ । भाजपा नेतृत्वको गठबन्धनमा सामेल विहारका नीतीश कुमारको जनता दल र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टीको समर्थनमा मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । यद्यपि भाजपाको एकल बहुमत नहुँदा अघिल्ला कार्यकालको जस्तो सहज स्थिति भने नभएको चुनावी परिणामले देखाएको छ । सन् २०१९ को लोक सभा निर्वाचनमा एनडिएले ३५३ सिट हासिल गर्दा भाजपा एक्लैले ३०३ सिटमा जित हासिल गरेर एकल बहुमत पाएको थियो । सोही परिणामको आडमा मोदीले यस पटक ‘चार सय पार’ को नारा अघि सार्नुभएको थियो । 

भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी (इन्डिया) गठबन्धन’ ले कडा टक्कर दिँदै कांग्रेस एक्लैको ९९ सिटसहित गठबन्धनले २३४ सिट जितेर सशक्त प्रतिपक्षका रूपमा खडा भएको छ । विगत १० वर्षदेखि प्रतिपक्षविहीन जस्तो भएको लोक सभामा प्रतिपक्षी दलको सशक्त उपस्थिति लोकतान्त्रिक मूल्य र मान्यताका लागि पनि अपरिहार्य ठानिएको छ । सशक्त प्रतिपक्षका कारण सरकार सञ्चालनका लागि एनडिए गठबन्धनमा तालमेल मिलाइराख्नुपर्ने चुनौतीपूर्ण बाध्यता मोदीसामु देखिएको छ । मोदीको उदयपछि सत्ता गठबन्धनको चरणबाट मुक्त भएको भारतीय राजनीतिमा मोदीकै तेस्रो कार्यकालमा आएर भाजपालाई प्राप्त जनअभिमत खबरदारीपूर्ण भएको अनुभूत हुन्छ । मोदीको १० बर्से कार्यकालमा भारतले विश्वलाई आकर्षित गर्ने गरी प्रगति गरेको छ । औसत ६.५ प्रतिशतको आर्थिक वृद्धि र संसारकै पाँचौँ ठुलो अर्थतन्त्र भएको मुलुकमा पु¥याउन मोदीकै योगदान छ । चन्द्रयान–३ प्रक्षेपण, गरिबी न्यूनीकरण, रेलमार्गको आधुनिकीकरण, फराकिला सडक, बन्दरगाह र अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठुला पूर्वाधार विकासमा भारतले अभूतपूर्व प्रगति गरेको छ । तेस्रो कार्यकालका लागि प्राप्त सफलतालाई मोदीप्रतिकै विश्वासका रूपमा लिनुपर्ने हुन्छ ।

मोदीको तेस्रो कार्यकालको खुसियाली सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको शपथग्रहण समारोहमा सहभागी हुनुभयो । सोही अवसरमा प्रधानमन्त्री प्रचण्ड र मोदीबिच भेटवार्ता हुनुका साथै दुईपक्षीय सम्बन्धबारे आपसी छलफल भएको छ । दुई देशबिच असल छिमेकीपन निर्वाह हुँदै आएको सन्दर्भमा सम्बन्ध थप प्रगाढ बनाउन केही सुल्झाउनुपर्ने विषयमा कूटनीतिक संवादको आवश्यकता भएको राजनीतिक विश्लेषकको भनाइ छ । विश्वमै पाँचौँ ठुलो अर्थतन्त्र भएको छिमेकी मुलुकसँगको सम्बन्धमा कत्ति पनि चिसोपन देखिन नहुने आमबुझाइ हुँदाहुँदै पनि समस्या हुँदै नभएका भने होइनन् । नयाँ नक्सासहितको सीमा समस्या, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनको कार्यान्वयन, हवाई रुटका लागि स्वीकृतिलगायतका विषयमा नेपालले पटक पटक आग्रह गर्दै आएको छ । सन् २०१४ मा मोदी पहिलो पटक प्रधानमन्त्री भएपछि नेपालको औपचारिक भ्रमण गरेर भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको १७ वर्षको इतिहासलाई तोड्नुभएको थियो । यस अर्थमा मोदीको ‘छिमेकी प्रथम नीति’ लाई सकारात्मक मान्नु पर्छ । प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा यीलगायतका विषयले निकास पाउन सके उहाँको छिमेकीलाई पहिलो प्राथमिकताको नीति सार्थक साबित भई सम्बन्ध अझ प्रगाढ हुने कूटनीतिक विश्लेषकको टिप्पणी समीचीन हुन आउँछ ।