• १२ साउन २०८१, शनिबार

बजेटले मूल्यवृद्धि बढ्ने जोखिम : पूर्वअर्थमन्त्री महत

blog

काठमाडौँ, जेठ २९ गते । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले गत १५ जेठमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले बैङ्क ब्याजदर र मूल्यवृद्धि बढ्ने जोखिम रहेको बताउनुभएको छ । 

साउथवेस्टन स्टेट कलेजद्वारा सोमबार काठमाडौँमा आयोजित ‘आव २०८१/८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता महतले यस्तो बताउनुभएको हो । 

उहाँले यो बजेटले देशले खोजेको अर्थतन्त्रको समस्याका आधारभूत प्रश्नको उत्तरसमेत नदिएको भन्दै हचुवाको भरमा कनिका छरेजस्तो जथाभाबी रूपमा बजेट छरेपछि सोचे जस्तो परिणाम नआउने बताउनुभयो । 

अहिलेको बजेटले ठुलो मात्रामा आन्तरिक ऋण उठाउने लक्ष्य राख्दा आगामी दिनमा निजी क्षेत्रले ऋण नै नपाउने हो कि भन्ने चिन्ता थपिएको बताउँदै उहाँले यसले आगामी दिनमा बैङ्क ब्याजदर बढ्ने र त्यसको असर मूल्यवृद्धिमा पर्ने दाबी गर्नुभयो । 

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्राडा सूर्यबहादुर थापाले देशलाई सही दिशामा लैजानका लागि अहिलेको बजेटले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नविल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले समग्रमा हेर्दा यो बजेटका लक्ष्यहरू सकारात्मक एवं आशा जगाउने किसिमकै भएको बताउँदै अब सबैको ध्यान आगामी मौद्रिक नीतितर्फ गएको भन्दै उनले नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतिले पुँजी बजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउन लचिलो नीति लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

साउथवेस्टन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीले देशको न्यूनतम आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउनुपर्नेमा अहिलेसम्म कसैले पनि त्यस्तो बजेट नल्याएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । 

साउथवेस्टन स्टेट कलेजका सहप्राचार्य हरिसिंह केसीले नेपालमा बजेटको इतिहासदेखि हालसम्मको कार्यान्वयनको अवस्था र जनअपेक्षाबारे आफ्नो धारणा राख्नुभएको थियो ।