• १२ साउन २०८१, शनिबार

सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

blog

काठमाडौँ, जेठ २९ गते । धितो मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ (भोजपुर), सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपाने (दैलेख) र प्राडा गीता प्रधान (ललितपुर, झम्सीखेल) रहेका छन् ।

यसै गरी सञ्चालक समितिका सदस्य रमेशकुमार निरौला (सिरहा, जमदह), रणबहादुर श्रेष्ठ (भोजपुर, दलगाउँ), राजेशकुमार दली (काठमाडौँ, ताहचल), उमाकुमारी श्रेष्ठ (चितवन) र शिवगोपाल रिसाल (मोरङ, विराटनगर) लाई समेत सिआइबीले सोमबार नियन्त्रणमा लिएको छ । सेन्चुरी बैङ्क, प्रभु बैङ्कमा गाभिनुअघि कमसल धितो राखेर दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपियाँ बराबरको कर्जा प्रवाह भएको पाइएपछि सो बैङ्कका तत्कालीन अध्यक्ष श्रेष्ठसहित सञ्चालक समितिको जिम्मेवारीमा रहेका अन्य सात जनालाई पक्राउ गरिएको सिआइबी प्रमुख श्याम ज्ञवालीले जनाकारी दिनुभयो ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सिआइबीले गत फागुन १५ गते तत्कालीन सेन्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका सो बैङ्कका कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनील बस्नेतलाई  पक्राउ गरी अनुसन्धान गरेको थियो ।

सेन्चुरी बैङ्कबाट कमसल धितो राखी सबैभन्दा बढी कर्जा देउराली सहकारी संस्था लिमिटेड र त्यसका सञ्चालक रवीन्द्र चौलागाईंले खडा गरेका विभिन्न चार वटा कम्पनीमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपियाँ कर्जा लगानी गरेको पाइएको छ । उक्त संस्थामा आबद्ध सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको जनाएको छ ।