• १६ चैत २०८०, शुक्रबार

सिटीसँग रियल पराजित

blog

रियलविरुद्ध गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १४ गते । १३ पटकको च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीले रियललाई ४-३ गोलले हरायो । 

सर्वाधिक सफल टोली रियललाई हराउन सिटीका केभिन डे ब्रुएन, ग्रावियल जेसस, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गर्नुभयो । रियलका कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्नुभयो । रोमाञ्चक खेलमा बल पोसेसन औसत राखेपनि रियलले हार टार्न सकेन । 

खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो । दोस्रो मिनेटमै ब्रुएनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । ११औँ मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनु भएको थियो । सिटीको दुई गोलपछि जोसिएको रियलले ३३औँ मिनेटमा पहिलो गोल फर्कायो ।

बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ५३औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाउनुभयो । दुई मिनेट लगत्यै भिनिसियसले उत्कृष्ट गोल गर्दै रियलको आशा कायम राख्नुभयो । ७४औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटी जिततर्फ अग्रसर भयो । 

त्यसपछि ८२औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गरेपनि रियलले हार टार्न सकेन । सिटीका रक्षक एमेरिक लापोर्टले डिबक्स भित्र ह्यान्ड गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो । सेमिफाइलमा पुग्न रियललाई घरेलु मैदानमा हुने दोस्रो खेल जित्नुपने बाध्यता भएको छ । सिटी भने जितको लयलाई निरन्तरता दिँदै पहिलो पटक उपाधि चुम्ने अभियानमा छ । दोस्रो लेग मे ५ तारिख हुनेछ । एजेन्सी