• १६ भदौ २०८१, आइतबार

दुई वडाध्यक्षमा एकल उम्मेदवारी

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई जना वडाध्यक्ष र चार जना सदस्यको एकल उम्मेदवारी परेको छ । वैशाख १२ गते उम्मेदवारी दर्ता गर्दा एकल उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका–१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको बताउनुभयो । उहाँले दरखास्त फारममाथिको छानबिन गर्ने कार्यतालिकाअनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेका कारण वैशाख १५ गतेपछि मात्र निर्विरोध निर्वाचित भएको जानकारी गराइने उल्लेख गर्नुभयो । लामा नेपाली काँग्रेसका उम्मेदवार हुनुहुन्छ भने तामाङ स्वतन्त्रका एकल उम्मेदवार हुनुहुन्छ । 

त्यसैगरी लिमीकै महिला वडा सदस्यमा कुन्ज्योकबुटी लामा, खुल्ला सदस्यमा छिरिङतन्डुप तामाङ र तुण्डुप तामाङको पनि एकल उम्मेदवारी परेको छ । यता सिमकोट–१ को दलित महिला सदस्यमा नेपाली काँग्रेसकी नानी कोइला सुनारको एकल उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार मनोनयन दर्ता गर्नुभएका उम्मेदवारविरुद्ध उजुरी न्यून मात्रामा परेका छन् । खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीका अनुसार गाउँपालिकाका कुल १०८ जना उम्मेदवारमध्ये दुई जनाविरुद्ध मात्र उजुरी परेको छ । १२७ जनाको उम्मेदवारीमा कुनै पनि उजुरी परेका छैनन् । त्यसैगरी नाम्खा गाउँपालिकामा पनि उजुरी नपरेको जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार कुनै पनि उम्मेदवारको मनोनयनविरुद्ध उजुरी परेका छैनन् ।

प्रतिस्पर्धामा ९३६ उम्मेदवार 

जिल्लाका सातवटै गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा ९३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार पार्टी र स्वतन्त्रका गरी नाम्खामा अध्यक्षमा चार र उपाध्यक्षमा पाँच जना, सिमकोटमा अध्यक्षमा पाँच जना र उपाध्यक्षमा पाँच जना, खार्पुनाथमा अध्यक्षमा चार जना र उपाध्यक्षमा नौ जना, सर्केगार्डमा अध्यक्षमा छ जना र उपाध्यक्षमा सात जना, चङ्खेलीमा अध्यक्षमा पाँच जना र उपाध्यक्षमा चार जना, अदानचुलीमा अध्यक्षमा चार जना र उपाध्यक्षमा पाँच जना तथा ताँजाकोट गाउँपालिकामा अध्यक्षमा आठ जना र उपाध्यक्षमा आठ जनाको गरी अध्यक्षमा जम्मा ३६ र उपाध्यक्षमा ४३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४४ वटा वडामा वडाध्यक्षमा २३० जनाको उम्मेदवारी परेको छ । ४४ जना महिला सदस्यका लागि १७३ जना महिला, ४४ जना दलित महिला सदस्यमा १०९ जना र ८८ जना खुला सदस्यका लागि ३४५ जनाको उम्मेदवारी परेको छ ।