• ९ असार २०८१, आइतबार

बढ्दै छन् थाइराइड क्यान्सरका बिरामी

blog

काठमाडौं, जेठ २७ गते । पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।  

 थाइराइड क्यान्सरका बिरामीको यकिन तथ्याङ्क नभए पनि पछिल्ला केही वर्ष यता अस्पतालमा थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको छ । तर, अस्पतालमा यकिन तथ्याङ्क छैन अस्पतालमा बिरामी विभिन्न स्टेजको थाइराइड क्यान्सरको समस्या लिएर आउने गरेका छन् ।’

डा. श्रेष्ठका अनुसार थाइराइड शरीरको लागि अत्यावश्यक ग्रन्थी हो । यसले शरीरमा आवश्यक पर्ने हर्मोन निकाली मेटाबोलिज्मलाई नियन्त्रण गर्ने काम गर्छ । यदि त्यही ग्रन्थीमा गिर्खा आएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

थाइराइड ग्रन्थीको बिचमा गिर्खा आएमा थाइराइडको क्यान्सर हुने भएकाले हेलचेक्राइँ नगर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘थाइराइडमा दुई वटा डल्लाको बिचमा गिर्खा आउने गर्छ । एक वा दुईवटा गिर्खा हुन्छन् । सबै गिर्खा क्यान्सर हुँदैन । कहिलेकाँही त्यही गिर्खा बढ्दै गएपछि क्यान्सर हुने गर्छ । कहिलेकाँही सुरुवाती चरणमा क्यान्सरका गिर्खा आउने हुँदा हेलचेक्राइँ गर्नुहुँदैन ।’ 

जेनेटिक, जीनमा म्युटेसन भएर, रेडियसन एक्स्पोजरले, आयोडिनको कमीले थाइराइड क्यान्सर हुने अनुमान गरिएको उहाँको भनाइ छ । ५० वर्ष माथिका मानिस, पुरुषको थाइराइडमा गिर्खा आएको छ भने धेरै रेडियसनमा एक्स्पोज भएका, हाइपो थाइरोइज्म भएका मानिस, परिवारमा कसैलाई यस्तो क्यान्सर छ भने त्यस्ता मानिसमा थाइराइड क्यान्सर हुने जोखिम बढी हुने डा. श्रेष्ठले बताउनुभयो ।  

उहाँका अनुसार धेरैजसो थाइराइड क्यान्सर सुरुवाती चरणमा कुनै पनि लक्षण देखिँदैन ।

बिस्तारै गिर्खा बढ्दै गएपछि घाँटीमा डल्लो देखिने, थुक निल्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने, सास फेर्न गाह्रो हुने, घाँटीको नसा फुल्नेजस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो । धेरैजसो क्यान्सर घाँटीको अल्ट्रासाउण्ड गर्दा पत्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।    

थाइराइडको भागमा डल्लो देखिएमा क्यान्सर हो कि भनेर जाँच गर्न उहाँको सुझाव छ । महिलाको तुलनामा पुरुषलाई थाइराइडमा गिार्खा आएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । यस्ता गिर्खालाई हेलचेक्राइँ गर्दा यदि क्यान्सर रहेछ भने घाँटीमा, छाती, हड्डीमा फैलिएर उपचार जटिल हुँदै जान्छ । 

यो क्यान्सर सजिलै पत्ता लगाउन सकिने डा. श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अल्ट्रासाउण्ड गरेर, रगतको जाँच गरेर र गिर्खाबाट पानी निकालेर जाँच गरी रोग पत्ता लगाउन सकिन्छ ।’ थाइराइडका धेरैजसो क्यान्सर समयमा नै पत्ता लगाउन सकियो भने ९० प्रतिशतसम्म निको बनाउन सकिने उहाँको भनाइ छ ।  

उहाँका अनुसार थाइराइड क्यान्सर कम समयमा निको हुने क्यान्सर हो । उहाँले भन्नुभयो, “यो क्यान्सर समायमा नै पत्ता लागेमा छिटो उपचार हुने गर्छ, अस्पतालमा पनि धेरै बस्नुपर्दैन । त्यसैले गिर्खा आएमा क्यान्सर भए नभएको पत्ता लगाएर तुरुन्तै उपचार गराऔँ ।’

थाइराइड क्यान्सर रोगको विषयमा केन्द्रित भ वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवादः

भिडियो : मनोजरत्न शाही /केशव गुरुङ  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।