• १२ मंसिर २०८१, बुधबार

संरक्षण अभावमा जीर्ण बन्दै रानी ताल

blog

सफाइ र संरक्षण अभावमा जीर्ण बनेको ऐतिहासिक रानी तलाउ । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २७ गते । करिब दुईसय वर्ष पुरानो ऐतिहासिक रानीताल संरक्षण अभावमा अहिले जीर्ण बन्दै गएको छ ।  रानीतलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र संवर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउने क्रम घट्दै गएको हो । 

केही समयअघिसम्म पर्यटकले भरिभराउ हुने सो तलाउमा रहेको बोटिङ अहिले बन्द भएको र सरसफाइमा समेत कमी आएकाले पर्यटक आगमन घट्दै गएर सुनसान हुन थालेको स्थानीय वडा ८ का पूर्व वडाध्यक्ष सुरेन्द्र गुप्ताले बताउनुभयो । 

उहाँले शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको अवस्था हेर्दा निकै दुःख लागेको जनाउँदै विशेषगरी गर्मीको समय यो तलाउ नेपाली र भारतीय पर्यटकबाट भरिभराउ हुने गरेको बताउनुभयो । 

सौन्दर्यीकरण गर्न धेरै रकम लगानी गरिए पनि संरक्षण नहुँदा त्यहाँ रहेका चार वटा डुङ्गा कामै नलाग्ने अवस्थामा पुगेको र तलाउको पानी पनि अति फोहोर हुँदै गएको पूर्व वडाध्यक्ष गुप्ताको गुनासो छ । 

बालबालिकालाई खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटी लगायतका सामग्री बिग्रिएका छन् । संरक्षण अभावमा फूलबारी पनि जिर्ण बनेको छ । सरसफाइको अभावका कारण तलाउको पानी फोहर भएकाले सरसफाइ गरी संरक्षण गर्नुपर्ने स्थानीय युवा जावेद राईले माग गर्नुभयो । 

नगरको मध्यभागमा रहेको र सबैलाई घरमफिरका लागि पुग्न पायक पर्ने यो तलाउको मर्मत सम्भार गरेर फेरि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सुरुवाती चरणमा करिब दुई वर्ष मात्र सो तलाउ राम्रोगरी सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । 

कोरोनापश्चात् तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेजस्तै बनाउने योजना रहेको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दिन राईले बताउनुभयो । 

स्थानीयको अनुसार रानीतलाउमा सरसफाइको कमी, तालको पानी फोहाेर हुँदै गएको, बोटहरु जीर्ण भएर काम नलाग्ने भएका र बालबालिका खेल्ने सामग्रीहरु समेत बिग्रिएका कारण तत्काल जीर्णोद्वार आवश्यक छ ।  

सरोकारवाला निकायले सो तलाउमा थप आकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियमित मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।