बुटवल समाचारदाता
बुटवल, जेठ २७ गते । बुटवल–गोरुसिङे सडक आयोजनाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ । बुटवल गोरुसिङे सडकको ठेक्का लागेको र सडक विस्तारको काम सुरु हुन लागेकाले सडकको बिचबाट दायाँबायाँ ५० मिटरभित्र सडक मिचेर बनाइएका संरचना हटाउन आयोजनाले आग्रह गरेको हो ।
आयोजनाका प्रमुख होमबहादुर एसीले सडक क्षेत्रभित्र बनेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको र निर्धारित मितिभित्र सम्बन्धित व्यक्तिले नहटाए अतिक्रमित सडक क्षेत्र खाली गर्ने बताउनुभयो । ५० किलोमिटर लामो बुटवल–गोरुसिङे सडकको विभिन्न स्थानमा सडक मिचेर संरचना बनाइएका छन् । यसै गरी आयोजनाले बुटवल–गोरुसिङे सडकखण्ड अन्तर्गत सैनामैना नगरपालिका–४ मा पर्ने ८२ फुटभित्र परेका घरहरूको क्षतिपूर्ति दिने भएको छ ।
आयोजनाले सूचना जारी गरी क्षतिपूर्तिका लागि दाबी गर्नसमेत आग्रह गरेको छ । सडक विस्तारको काम असारबाटै सुरु हुने भएपछि आयोजनाले त्यसअघिका पूर्वतयारीका काम गरिरहेको छ । त्यसै गरी बुटवल–गोरुसिङे सडकको दायाँबायाँ मापदण्डभित्र परेका करिब एक हजार रुखसमेत काटिने भएका छन । अहिले आयोजनाले सडक क्षेत्रभित्र पर्ने एक हजारभन्दा बढी रुख कटान स्वीकृतका लागि वन विभागसँग स्वीकृतिका लागि माग गरेको छ ।
एक हजारभन्दा बढी विभिन्न प्रजातिका रुखमध्ये चार सयभन्दा बढी बरपिपलका रुखहरू समेत काटिने भएका छन । ५० किलोमिटर लामो सडक विस्तारको काम सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले हालै ठेक्का लगाएको हो । ५० किलोमिटर सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजारमा ठेक्का लागेको हो । बुटवल–गोरुसिङे सडकखण्डको पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अण्डरपास, ओभरपास निर्माण हुने छन् ।
बुटवल–गोरुसिङे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।