• १० मंसिर २०८१, सोमबार

सांस्कृतिक क्रान्तिको आधार

blog

इतिहास कुनै सम्राट्, राजा, महाराजा, सेनापति वा ठुलाबडाको विलासिता र वैभवको कथा होइन । न त जितेका साम्राज्यले हारेका देश र जनतामाथि गरिएको दमनको कथा नै हो । इतिहास त शोषक, उत्पीडक वर्गका विरुद्ध, सामन्त दास मालिकविरुद्ध, साम्राज्यवादी एकाधिकार र विश्व निरङ्कुश प्रभुत्वविरुद्ध, शोषक पुँजीपति वर्गको एकलौटी दोहनविरुद्ध, गरिब, चुसिएका, श्रमजीवी वर्गको सङ्घर्ष, वीरता र बलिदानको महान् गाथा हो । त्यही गाथा इतिहासको आधार हो, सत्य र यथार्थ पनि हो ।

क्रान्ति जनताका लागि ठुलो पर्व हो, उत्सव हो, आनन्द पनि हो । बिनाक्रान्ति जनताले खुसी प्राप्त गर्न सक्दैनन्, खुसी भनेको नै मुक्ति र स्वतन्त्रता हो, जुन त्रासदी र आतङ्कका कोखबाट खुसी बनेर पैदा हुन्छ । जनताको क्रान्तिकारी सङ्घर्षको परिणाम नेपालमा गणतन्त्र आएको छ । गणतन्त्रका लागि सांस्कृतिक क्षेत्रका साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकार आदि लगभग दुई सय त्रिसट्ठी जनाभन्दा बढी संस्कृतिकर्मीले बलिदान दिएका छन् । तिनै संस्कृतिकर्मीको मातृसङ्गठन जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलन यही जेठ १७/१९ गते प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । 

‘समाजवादी सांस्कृतिक आन्दोलनको धरोहर, प्रगतिवादी सांस्कृतिक सङ्गठन, जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको कामना गर्छु ।’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ । उहाँले आफ्नो ‘संस्कृति कला र सौन्दर्य चिन्तन’ कृतिको पृ. ८२ मा पहिले नै ‘माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक निर्देशनलाई दह्रोसँग पक्रेर आफ्ना सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्ने धारा नै वर्तमान नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलन हो’ भनिसक्नुभएको थियो । यो सङ्घ त्यही धारामा बगिरहेको छ । ‘जनसांस्कृतिक महासङ्घ, नेपाल, नेपाली समाजको सबभन्दा गतिशील, वैज्ञानिक र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा आधारित जनताका असल र प्रगतिशील संस्कृतिको संरक्षण तथा सामन्ती, रूढिवादी, उपभोक्तावादी संस्कृतिको उन्मूलन र समाजवादी संस्कृतिको विकासका लागि स्थापित सांस्कृतिक र वैचारिक संस्था हो । यसले माक्र्सवाद लेनिनवाद माओवादको आलोकमा रही समाजवादी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्छ ।’ उक्त सन्देशमा उल्लेख छ । अबको समाजवादी संस्कृति निर्माणमा यस सङ्गठनले महत्वपूर्ण कार्यभार लिनु पर्छ, नेतृत्व गर्नु पर्छ भन्ने यसको तात्पर्य हो । त्यसको अर्थ हो अब समाजवादी संस्कृति निर्माणको दायित्व र कार्यभार यसै सङ्गठनको हो । त्यसैले महासङ्घलाई यस दायित्व र कार्यभारबाट विचलन हुने छुट छैन, भन्ने बुझ्न जरुरी छ ।

सामन्ती पुँजीवादी संस्कृति के हो ? धेरैको प्रश्न हुने गर्छ । सामन्तवाद व्यक्तिप्रभुत्व र वैयक्तिक निरङ्कुश शासनमा आधारित हुन्छ । यसले जमिनदार, धनी सामन्त, मुखिया, मालिक, शोषक, अभिजात्य र कुलीन, दलाल र नोकरशाहको संरक्षण र हक अधिकारको मात्र रक्षा गर्छ । तिनैको हितमा मात्र काम गर्छ । गरिब, जनजाति, महिला, श्रमजीवी, मजदुर आदि कमजोर वर्गमाथि अन्याय र अत्याचार गर्छ, भेदभाव र पक्षपात गर्छ, उपेक्षा र तिरस्कार गर्छ । तिनका आँसु रगत पसिना पिएर आफू विलासिता र वैभवको जीवन बाँच्छ तर निम्छरो वर्ग, शोषणको पहाडमुनि थिचिएर, ओखती, अन्न, आवास, आश्रय नपाइकनै रोगले थलिएर जिउँदै मर्छ । जनताबिच फाटो पार्ने र शासन गर्ने नीति अनुसार उसको जातीय भेदभाव, छुवाछुत, उचनीच, वर्ण, रङ्ग, क्षेत्र, पहाड, मधेश, थारू, मुस्लिम आदि विभेदीकरणको कुरूप तथा विकृत दृष्टिकोण हुन्छ, जुन पुरानो र अन्धो धारणा हो, सामन्ती पुँजीवादी संस्कृति मानिन्छ । त्यस कारण सामन्ती संस्कृति फालेर मात्र नयाँ संस्कृति बन्छ र त्यसमा सबैले स्वतन्त्रता उपभोग गर्न सक्छन् । 

हिजो सामन्तीकालमा देशको सिङ्गो राज्यकोष, आयस्रोत, राजकीय भण्डार, जमिन, जङ्गल, मूर्ति, भेटी, दान, अनुदान आदि सामन्त वर्गले एकलौटी उपभोग ग¥यो । राज्यकोष जनतामा कहिलै पुगेन । देश संसारको सबभन्दा गरिब मुलुकमा परिणत भयो । जनताका सबै हक, अधिकार मारिए तर त्यसको दुःख पीडा कहर व्यक्त गर्नसम्म पाइएन । निरङ्कुश जहानियाँ तानाशाहीको प्रवृत्ति नै सामन्ती संस्कृति थियो । 

‘जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको बलमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएका छौँ । परिवर्तनकारी त्यो सङ्घर्षकै बलमा गणतन्त्र, सङ्घीयता, समावेशी, धर्मनिरपेक्षता, सामाजिक न्याय, समाजवादोन्मुख संविधान, लोकतन्त्र आदि उपलब्धि पाएका छौँ । तापनि अब राजनीतिक परिवर्तन अनुरूप सामाजिक, सांस्कृतिक परिवर्तन गर्ने दायित्व हाम्रै काँधमा छ’ प्रचण्डले भन्नुभयो । प्रचण्डको उक्त भनाइको आशय हाम्रा उपलब्धि पूरा भएका छैनन्, हामीले जस्तो समाज निर्माणको सङ्कल्प गरेका थियौँ, जस्तो संस्कृति बसाल्ने सपना देखेका थियौँ, त्यो पूर्ण भइसकेको छैन तर अब त्यतातिरको यात्रा तय गर्नु पर्छ भन्ने हो । विद्यमान संसदीय परिपाटी अत्यन्त रूढिवादी, परम्परागत, पछौटे, यथास्थितिमै रमाउने, प्रगतिशील र वैज्ञानिक चरित्र लिन नसकेको, पुँजीवादी मर्यादा र आदर्शको समेत पतन हुँदै गएको छ । भ्रष्टाचारको मात्र समृद्धीकरण गर्ने, महँगो न महँगो चुनावी पद्धति भएको, देश र जनताका जल्दाबल्दा समस्याको समाधान गर्न नसक्ने, अस्थिरता र बेमेल मात्र भएको, पार्टीहरूको आपसी झैझगडा, फुट, हानथाप र हुँडलोमा मात्र केन्द्रित छ । देश र जनताप्रति सरोकारै नराख्ने र जनताप्रति उत्तरदायित्व नै नभएको, विकास, औद्योगिकीकरण, युवा समस्या, बेरोजगारी, प्रतिभाहरूको पलायन, गरिब, मजदुर, किसान वर्गका पीडा वेदनाप्रति वास्तै नगर्ने छ । सिङ्गो राष्ट्रिय चिन्तन, सोच, योजना, आत्मनिर्भरतामुखी अर्थव्यवस्था, राष्ट्रिय पुँजीपति वर्गको संरक्षण र संवर्धन, राष्ट्रिय पुँजी निर्माणमा जोड जस्ता कुनै चरित्र छैन । यसमा चासोसम्म पनि नराख्ने देश जनताका समस्याप्रति उदासीन, व्यक्तिस्वार्थ लम्पट र आत्मकेन्द्रित–अवसरवादी–व्यक्तिवादी भएका कारण यथास्थितिमा नै रमाइरहेको हुँदा यसमा अब जनसमुदाय सन्तुष्ट रहन सक्ने स्थिति देखिँदैन । वस्तुतः अबको गन्तव्य समाजवाद मात्र हो ।

‘समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रश्न सांस्कृतिक रूपान्तरणसँग अभिन्न रूपले जोडिएको छ । सांस्कृतिक क्रान्तिको कार्यभारलाई थाती राखेर वा बेवास्ता गरेर संसारका कुनै पनि देशमा राजनीतिक क्रान्तिको विजय, स्थायित्व र विकास सम्भव भएको छैन । नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । तसर्थ समाजवादी क्रान्तिको आधार तयार पार्ने कार्यभारसँग सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृति निर्माणको प्रश्न महìवपूर्ण रूपमा जोडिएको छ । साहित्य, कला, सङ्गीत, चलचित्र आदि विधाका माध्यमबाट जनतालाई राजनीतिक विचार, सिद्धान्त र दर्शनबाट परिष्कृत गर्दै, प्रशिक्षित, सङ्गठित र आकर्षित गर्दै, परिवर्तित सन्दर्भमा कलम र मादलले आफ्नो भूमिका निर्वाह गर्नु अहम् महìवको छ’ । सो सम्बोधनमा प्रचण्डको यस भनाइले संस्कृतिकर्मी समाजवादको आधार निर्माण गर्ने अभियन्ता हुन् भन्ने देखाउँछ । साँच्चै सांस्कृतिक रूपान्तरण नहुने हो भने यो राजनीतिक परिवर्तनको भविष्य छैन । न त यसको स्थायित्व नै हुन सक्छ, न विकास । अहिलेको राजनीतिक अस्थिरताको एउटा मुख्य कारण नै संस्कृतिमा कुनै परिवर्तन नआउनु हो । त्यो अस्थिरता ‘प्रधानमन्त्रीले तीन महिनामा छ पटक विश्वासको मत लिनु’ पर्ने बाध्यात्मक स्थितिको एउटै रूपले स्पष्ट गर्छ । ‘एक पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि उसका विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने’ भन्ने संविधानको प्रावधानलाई यस प्रावधानले कमजोर बनाइदिएको छ, अनि कहाँ छ स्थिरता ? त्यसैले विद्यमान अवस्था नै विकृतिको जड हो भन्ने कुरा घटनाव्रmमले देखाइसकेका छन् । यसलाई नफेरे फेरि पनि विद्रोह जन्मिन सक्छ ।

साहित्य, कला, गीत, सङ्गीत, नाट्य, चलचित्र, वास्तुकला, चित्रकला आदि जति पनि कलाका विधा छन् तिनको संरक्षण, संवर्धन, विकास, समयानुकूल सुधार, रूपान्तरणले मात्र समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ । हाम्रो आन्दोलनमा संस्कृति र कलालाई विचार निर्माणको प्रश्नसँग नजोडेर केवल कलासँग मात्र जोड्ने समस्या विद्यमान छ । त्यस्तै श्रम संस्कृतिलाई उपेक्षा गर्ने संस्कृति क्रमशः बलशाली हुँदै गइरहेको देखिन्छ । राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई महìव नदिने वा सहायक कुरा ठान्ने प्रवृत्ति पनि विद्यमान छ । यस्ता सांस्कृतिक चिन्तन र प्रवृत्तिलाई जनसांस्कृतिक महासङ्घले पराजित गर्ने उपयुक्त बाटो पहिल्याउने छ, समीक्षा र विमर्श गर्ने छ । सांस्कृतिक रूपान्तरणमा साँच्चै लाग्ने सोचाइ हो भने जनसांस्कृतिक महासङ्घले यो निर्देशनलाई पूर्णतः अनुसरण गर्नु पर्छ र राजनीति र संस्कृतिलाई जोडेर लैजान सबैलाई दबाब दिनु पनि आवश्यक छ । नेता वा कार्यकर्ता जोसुकै होस् सांस्कृतिक रूपान्तरणलाई महत्व दिन्न भने त्यसविरुद्ध संस्कृतिकर्मीले आफ्नो भूमिका खेल्नै पर्छ ।

रूपान्तरण कसरी ?

संस्कृतिको जग समाज हो, तसर्थ समाजवादी सांस्कृतिक रूपान्तरण आन्दोलनलाई माथि उठाउन समाज रूपान्तरणको भूमिका महत्वपूर्ण छ । हिजो जनयुद्धकालमा सांस्कृतिक आन्दोलनलाई जुन उचाइमा उठाएका थियौँ, त्यहाँ सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणको सङ्कल्प र पहलको ठुलो भूमिका थियो । आजको भिन्न परिस्थितिमा पनि जनताको आधारभूत तहसम्म पुगेर उसको जीवनपद्धतिलाई वैचारिकीकरण गर्दै समाजवादी संस्कृतिको आधारविन्दु श्रम, उत्पादन र श्रमिकको सम्मान तथा श्रम संस्कृति निर्माण र विकासमा ध्यान दिनु पर्छ । जनताको तहसम्म वैचारिक जनपरिचालन, विभिन्न क्लबमार्फत युवाको पनि परिचालन गर्ने जस्ता रचनात्मक काम गर्नु पनि महासङ्घको कार्यक्षेत्र भित्रै पर्छ । यसले समाज रूपान्तरणको दिशाले नै सांस्कृतिक रूपान्तरणको दिशालाई दिशाबोध गराउँछ भन्ने अर्थ लाग्छ । तसर्थ समाज रूपान्तरणका लागि तल्लो तह, जनतासम्म पुगेर तिनलाई जगाउनु, श्रम गर्नु र उत्पादनमा सामेल हुनु, श्रम गर्नेहरूलाई सम्मान गर्ने, आदर गर्ने संस्कृति बसाल्नु, काम चोर, श्रम चोरहरूप्रति घृणा गर्ने संस्कृति बसाल्नु, ठगेर खाने, विनाश्रम रातारात धनी बन्ने प्रवृत्तिलाई निस्तेज पार्नु र घृणा जगाउनु, अनैतिकता र नीचतापूर्वक कमाउन चाहने तथा स्वाभिमान र आदर्श नै बन्धक राखेर धनोपार्जन गर्न चाहने संस्कार बोकेकाहरूको प्रतिवाद गर्नु संस्कृतिकर्मीको दायित्व नै हो । 

सांस्कृतिक रूपान्तरणको केन्द्रीकृत अभिव्यक्ति राजनीतिक रूपान्तरण हो । अतः यी दुईका बिचमा छुट्याउनै नसकिने सम्बन्ध रहेको हुन्छ ।’ सौन्दर्य चिन्तनबारे प्रकाशित कृति ‘संस्कृति कला र सौन्दर्य चिन्तन’ मा प्रचण्डले उतिखेरै भन्नु भएको थियो । त्यसलाई फेरि पल्टाएर पढ्न जरुरी छ ।

हाम्रो विशिष्टता र मौलिकतामा जनवादी संस्कृति निर्माण गरेर त्यसको संरक्षण, विकास र समृद्धीकरण गर्दै, सामन्तवादी संस्कृतिले खडा गरेको रूढिवाद, अन्धविश्वास, अन्धभक्तिको संस्कृतिलाई ज्ञान विज्ञानले पछार्दै, साम्राज्यवादले खडा गरेको उपभोक्तावाद, उत्तरआधुनिकतावाद, शून्यवाद आदिका विरुद्ध सङ्घर्ष गर्दै, समाजवादी संस्कृतिको जग बसाल्नु महासङ्घको मुख्य कार्यभार हो । यसैलाई मध्यनजर गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा संस्कृति, कला र साहित्य क्षेत्रको विशेष उन्नयनका लागि विशेष बजेट पनि विनियोजन गरेको छ । समुदायसँगको सहकार्यमा प्राचीन महत्व बोकेका कैयौँ पुरातात्त्विक क्षेत्रका दर्जनौँ नगर, सम्पदा, युद्ध सङ्ग्रहालय, इतिहासका परिवर्तनलाई प्रतिविम्बित गर्ने राजतन्त्रदेखि गणतन्त्रसम्मका ऐतिहासिक सङ्ग्रहालयको स्थापना गर्न बजेट व्यवस्था गरेको छ, जनकपुरको जानकी मन्दिर क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने योजना ल्याएको छ । यसले महासङ्घको आगामी कार्ययोजना, कार्यभार, पहलकदमी र सक्रियतालाई दिशानिर्देश गर्छ । महासङ्घको कार्यक्षेत्र र जिम्मेवारी तथा आगामी कार्ययोजना स्पष्ट पार्छ । 

‘नेपाल प्रज्ञा–प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठानहरू तथा अन्य बौद्धिक प्राज्ञिक मञ्चहरूमा अहिले हामीले नै नेतृत्व गरिरहेकाले तीमार्फत पनि गणतन्त्र, जनयुद्ध, परिवर्तन जस्ता ऐतिहासिक उपलब्धिको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी बहुआयामिक गणतान्त्रिक उपलब्धिलाई जनतासम्म पु¥याउने काममा पनि महासङ्घले नेतृत्व लिने छ, भन्ने चाहन्छु । सुशासनका लागि सरकारले निरन्तर पहल गरिरहेको छ । त्यसका केही उपलब्धि भएका छन् । तसर्थ सरकारले गरेका महत्वपूर्ण कामहरूलाई पनि जनतासम्म पु¥याउन नेतृत्व गर्नु हुने छ भन्ने अपिल पनि गर्न चाहन्छु ।’ प्रचण्डले भन्नुभएको छ । सामाजिक रूपान्तरणका लागि जनसांस्कृतिक महासङ्घ र त्यसका आङ्गिक सङ्गठनहरूको ठुलो जिम्मेवारी छ भन्ने यी भनाइबाट पुष्टि हुन्छ । यसैले यो सम्मेलनले नयाँ नेतृत्व चयन मात्र गरेको छैन, तिनलाई ठोस कार्यभार पनि सुम्पेको छ । 

Author

ईश्वरचन्द्र ज्ञवाली