• १२ साउन २०८१, शनिबार

पाठेघरको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर

blog

नेपालगन्ज २३ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २५ गते। बाँकेका विभिन्न स्वास्थ्य संस्थामा पाठेघर सम्बन्धी समस्या लिएर महिला आउन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न वडामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको छ।

चालू आर्थिक वर्षमा नेपालगन्जका सात वटा वडामा सो निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्यसहित शिविर सञ्चालन सुरु गरिएको नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।

पाठेघरसम्बन्धी बढी समस्या रहेको अनुमान गरिएको नेपालगन्जका वडामध्ये वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो।

उहाँले सोही कार्यक्रम अनुसार वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरिएको बताउनुभयो ।

कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरको सहयोगमा सञ्चालित शिविरहरुमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा रिफर गरिने स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताउनुभयो।

नेपाल सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि एक लाख रुपियाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपियाँ दिँदै आएको छ।यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपियाँ दिने गरेको छ ।

वडा नम्बर २३ का वडा अध्यक्ष जबर अली बेहनाले यो वडा सहरको किनारमा रहेकोले यहाँका महिलामा जनचेतनाको कमीले विभिन्न रोग पालेर बस्ने गरेको पाइएकोेले यस्ता निःशुल्क शिविरबाट महिलालाई धेरै लाभ पुग्ने बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वास्थ्यसम्बन्धी समस्या लुकाउने चलन समाजमा रहेको जनाउँदै त्यसबाट कहिलेकाँही धेरै ठुलो क्षति व्यहोर्नुपर्ने हुँदा आफ्नो स्वास्थ्य समस्या खुलेर बताउन महिलालाई आग्रह गर्नुभयो।

समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ।

वडा नम्बर २३ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समीक्षा चन्दले महिलाको स्वास्थ्य जाँच गर्नुभएको थियो।