• ३१ जेठ २०८२, शनिबार

अवैध दोहन रोक्न माग

blog

फाइल तस्बिर

बुटवल समाचारदाता 

बुटवल, जेठ ३१ गते । रुपन्देहीका नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढेको भन्दै राजनीतिक दलले रोक्न माग गरेका छन् । नेकपा (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै खोलामा मापदण्डविपरीत उत्खनन, दोहन र चोरी निकासी भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो कार्य बन्द गर्न प्रभावकारी कदम चाल्न र संलग्न व्यक्ति तथा संस्थामाथि कडा कारबाही गर्न माग गर्नुभयो । 

मापदण्डविपरीत खोला उत्खननले बाढी, पहिरोजन्य प्राकृतिक प्रकोप, डुबान, कटान, मानवीय र पर्यावरणीय सङ्कट वृद्धि हुने विज्ञप्तिमा उल्लेख छ । यसअघि समाजवादी मोर्चामा रहेका तीन दल समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले समेत विज्ञप्ति निकालेर रुपन्देहीका खोलामा मापदण्ड मिचेर भइरहेको अवैध उत्खनन रोक्न माग गरेका थिए । 

एमाले बुटवल अध्यक्ष पोखरेलले आर्थिक वर्षको अन्तिम समयमा आएर खोला उत्खनन गर्न दिने काम बन्द गर्न माग गर्नुभयो । दलहरूले पालिकाले तोकेको ठाउँमा घाटगद्धी गर्नुपर्ने ढुङ्गा, गिट्टी, बालुवालाई क्रसर उद्योगलगायत अन्यत्र पु¥याएर चोरीनिकासी भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । 

यो वर्ष बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चनलगायतका स्थानीय पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नदीजन्य पदार्थको दोहन रोक्न र प्रभावकारी चेकजाँच गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरे पनि अवैध दोहन नरोकिएको बताउनुभयो । 

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिराध्वज शाहले प्रशासन र ठेकेदारको मिलेमतो र सेटिङमा मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन भइरहँदा पनि पालिका र प्रशासन मौन बसेको आरोप लगाउनुभयो । अहिले पनि रुपन्देहीको तिनाउ, दानव, सैनामैनाको विभिन्न घाट, सियारी, तिलोत्तमा, कञ्चनलगायतका नदीबाट मापदण्डविपरीत उत्खनन र ढुङ्गा, गिट्टी, बालुवाको अवैध निकासी भइरहेको भन्दै रोक्न नेकपा (एमाले) बुटवलले माग गरेको छ ।