चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङमा भिरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिरिजङ्घा गाउँपालिका–६, मामाङ्खे सुक्तेन टोलका ३० वर्षीय विजय लिम्बूको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बाख्रा चराउन जाने क्रममा सोही ठाउँस्थित थोकलम्बी भिरबाट लडेर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । लिम्बू भिरबाट करिब २०० तल खसेर बजारिएका थिए ।
उक्त घटनाबारे मामाङ्खेका वडाध्यक्ष सुखराज लिम्बूले इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गर्नु भएको थियो । वडाध्यक्ष लिम्बूले खबर गरेपछि तेल्लोकबाट प्रहरी सहायक निरीक्षक (असई) हिमराज कटुवालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ गएको थियो ।
घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्नेसँगै घटनाको मुचुल्का उठाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली गएको थियो । जिल्लाबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का (विवरण) उठाएपछि लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पठाइएको प्रहरीले जनाएको छ ।