भैरहवा समाचारदाता
भैरहवा, जेठ २५ गते। नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। अधिवेशनले यज्ञ गैरेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो भने अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्।
नेताबिच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको थियो। समझदारी जुटेपछि बिहीबार राति अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसी, चित्रबहादुर कार्की र हितराज पन्थीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो। अध्यक्षका अर्का उम्मेदवार खेमप्रसाद लुइँटेलले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनीता उठेर पनि सर्वसम्मत हुनुभएको छ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्यालसहितका नेताहरुले बुधबार राति नै यो विषयमा छलफल गरी सहमति गर्नुभएको थियो। पौडेलले बिहीबार बिहानै काठमाडौं गएपनि यहाँ रहेका नेताहरुले समझदारी सुनाएका थिए।
त्यस्तै अधिवेशनले १४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका थिए।