सिराज खान
नेपालगन्ज, जेठ २५ गते । गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बाँके, बर्दिया र कैलाली जिल्लाका पाँचवटा पालिकाका १० वटा बिद्यालयका ६ हजार बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल (ओआरएस) र ग्लुकोज पाउडरजस्ता अत्यावश्यक सामग्री वितरण गरिएको कतार च्यारिटि नेपालले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिममा यस वर्ष अत्यधिक गर्मी भएर विशेषगरी बालबालिका र मजदुरहरु प्रभावित भएपछि उनीहरुलाई राहतका लागि सञ्चालन गरिएको विशेष कार्यक्रम तातो हावा परियोजना अन्तर्गत बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री बितरण गरिएको कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद अली शेषले बताउनुभयो ।
उहाँले बाँकेको नेपालगन्ज, खजुरा र नरैनापुर बर्दियाको गुलरिया र कैलालीको धनगढीमा रहेका बिद्यालयका बालबालिकालाई सो सामग्री वितरण गरिएको बताउनुभयो ।
सोही प्रकारले ती विद्यालयमा ३५० वटा सिलिङ पङ्खा पनि जडान गर्नुका साथै हरेक विद्यालय र सार्वजनिक स्थलमा चिसो पानी प्रणाली जडान गरिएको जनाइएको छ ।
यस्तै, गर्मीबाट प्रभावित भइ मजदुरी गर्न नसकेका तीन वटै जिल्लाका ७०० घर धुरीलाई खाद्यान्नलगायत छाता, मच्छर झुलसहित विभिन्न सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालले जनाएको छ ।
नेपालगन्जका मेयर प्रशान्त बिष्टले पनि गर्मीबाट विपन्न र बालबालिकालाई राहत दिने कार्यक्रम गरिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले कतार च्यारिटीले सही समयमा सही परियोजना ल्याएको बताउनुभयो ।
स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोगमा बाँके युनेस्को क्लबमार्फत कतार च्यारिटी नेपालले बाँके, बर्दिया र कैलाली जिल्लाका लागि ४५ दिने तातो हावा परियोजना सञ्चालन गरेको छ ।