• १२ असार २०८१, बुधबार

गाउँमै कागज उद्योग सञ्चालनले रोजगारी र सीप सिक्दै स्थानीय

blog

खजुरा, जेठ २५ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, औंरहवा मा केही समय अगाडि स्थापना भ सञ्चालनमा आएको कागज उद्योगले स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै प्राविधिक सिप प्रदान गरिरहेको छ ।

गत चैत महिनाबाट सञ्चालनमा आएको ‘एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेड’ले स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुका साथै मिल सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान तथा सिप प्रदान गर्दै आएको छ ।

उद्योगबाट हाल पहिलो चरणमा खेर गएका पेपर, प्याकेजिङ् उद्योगबाट र छापाखानाबाट निस्कने पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताब, पुराना कापी, पुराना कपडा, प्लाष्टिक तथा काम नलाग्ने वस्तुहरुको प्रयोगबाट रेकर्ड फाइल बनाउने पेपर उत्पादन गर्दै आएको कम्पनी सञ्चालक समितिका सदस्य एवम् सुपरभाइजर होमबहादुर अधिकारीले जानकारी दिनुभयो ।

‘आफैं श्रमिक, आफैं मालिक’ अवधारणाअनुसार सञ्चालनमा आएको उद्योगले सञ्चालनको सुरुआती चरणमा स्थानीय २५ जना सर्वसाधारणलाई रोजगारी प्रदान गरेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार उद्योगमा जति पनि कामदार छन् सबै कम्पनीको शेयर सदस्य हुन् । श्रमिकले श्रम गरेवापत पनि परिश्रम पाउने र कम्पनीको मुनाफाबाट पनि लाभांश पाउने उहाँले बताउनुभयो ।

स्थानीयलाई रोजगारमात्र नभएर उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान र सिप पनि प्रदान गरिरहेको अधिकारीको भनाइ छ । उहाँका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक पर्ने बिटर, मोल्ड, पल्पर क्यालेन्डरिङ मेशिन, हाइड्रोलिक प्रेसर मेशिन, र्‍याक चोपर मेशिन तथा एजिटेक्टर जस्ता मेशिन आफैंले सञ्चालन तथा मर्मतका लागि रोजगार गरिरहेका श्रमिकलाई प्राविधिक ज्ञान तथा सिप पनि प्रदान गरिरहेको छ ।

श्रमिकलाई मेशिनसम्बन्धी तालिम प्रदान गरी सिप सिकाउनका लागि उद्योगले भारतको मध्येप्रदेश भुपालबाट एक जना दक्ष प्रशिक्षकलाई ल्याएर तालिम प्रदान गरिरहेको छ । उद्योगले मेशिन सञ्चालन तथा मर्मतका लागि भारतबाट हेण्ड मेड एण्ड मोल्ड मेड पेपर स्पेसिलिष्ट जावेद खानलाई ल्याएर स्थानीयलाई तालिम प्रदान गरिरहेको हो । हाल करिब दुई हप्तादेखि स्थानीयलाई तालिम प्रदान गरिरहेको र कम्तीमा ४५ दिनको प्रशिक्षणपछि पूर्णरुपमा आफैं मेशिन अप्रेटर बन्न सक्ने उद्योगले जनाएको छ ।

पेपर उद्योगको मेशिन सञ्चालन गर्ने दक्ष प्रशिक्षकहरु नेपालमा नपाइएपछि भारतबाट प्रशिक्षक ल्याएर स्थानीयलाई सिप सिका स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने र भविष्यमा स्थानीयबाटै मेशिन सञ्चालन गर्ने उद्देश्यले मेशिन सञ्चालनसम्बन्धी तालिम पनि दिइरहेको उद्योगले जनाएको छ ।

स्थानीयले गाउँमै पेपर उद्योग खुलेर रोजगारी पाउँदा र मेशिन चलाउने तालिम पनि एकैसाथ पाउँदा खुशी भएका छन् । गाउँमा घर बनाउने मिस्त्रीको काम गर्दै आउनुभएका स्थानीय वेदबहादुर खड्काले कम्पनीमा आफूसक्दो धेरथोर शेयर पनि खरिद गरेको र आफै श्रमिक भएर नियमित काम पनि पाइरहेको बताउँदै खुशी भएको बताउनुभयो । उहाँले मेशिन चलाउनका लागि प्रशिक्षकबाट सिप पनि सिकिरहेको भन्दै भविष्यमा दक्ष अप्रेटर बन्ने लक्ष्य लिएको बताउनुभयो ।

उद्योग सञ्चालन हुनुभन्दा अगाडि स्थानीय कृष्णा चौधरीले खेतीपातीको काम गर्दै आएको बताउनुहुन्छ । आफूले जीवनभर कृषिमै बिताउँदै आएको भन्दै उहाँले गाउँमै पहिलोपटक यस्तो प्रकारको मेशिनहरु देख्दा आश्चर्य लागेको बताउनुभयो । उद्योगमा नियमित काम पनि पाइरहेको र सिपसमेत आर्जन गरी भविष्यमा आफैं उद्योगको अप्रेटर हुने सपना देखेको उहाँको भनाइ छ ।

भगवतीप्रसाद चौधरीले आफूले काम पनि गर्दै र मेशिन सञ्चालनका लागि तालिम पनि सिकिरहेको बताउनुभयो । उहाँले कामका साथै मेशिन चलाउने काम सिक्दै क्षमता विकास गर्ने र पूर्णरुपमा आफैंले मेशिन सञ्चालनका लागि आफू निपुण बन्ने बताउनुभयो ।

कम्पनीका संयोजक तथा अध्यक्ष ज्योतिलाल भण्डारीले भविष्यमा स्थानीयस्तरमै पाइने बाबियो, पराल, गहुँको नल, अम्रिसो, बाँस, उखुको छोक्रालगायत फाइबरयुक्त पदार्थ प्रशोधित गरी एग्रेसिभ पल्प बना दैनिक ३०० मेट्रिक टन उत्पादन पल्पबाट विभिन्न साइज, कलर र ग्रामेजका पेपर उत्पादन गर्ने लक्ष्य भए पनि हाल पहिलो चरणमा पेपर रिसाइकल स्थापना गरी दैनिक ३० टन रिसाइकल पेपर उत्पादन गर्नेगरी रिसाइकल परियोजना सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले पल्प उत्पादन गर्दा डाइजेष्टिरको माध्यमबाट निस्किने पदार्थ (ब्लाक लिक्वायर–लिग्नेम)बाट बायो र्जा उत्पादन गरी कम्पनीलाई चाहिने ऊर्जा पूर्ति गरिने र अपुग ऊर्जाका लागि सोलार प्लान्ट जडान गरी र्जा उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । बायो प्लान्टबाट उत्पादन हुने पदार्थलाई जैविक मलको रुपमा उत्पादन गरेर पानी व्यवस्थापनका लागि ट्रिटमेन्ट प्लान्ट स्थापना गरी पुनः प्रयोग गर्ने लक्ष्यसमेत रहेको उहाँको भनाइ छ ।

गरिबी, बेरोजगारी, परम्परागत कृषि प्रणाली, व्यापार घाटा लगायतसँग जुध्दै आएको समाजलाई देशभित्रै आद्योगिक क्रान्ति सृजना गर्नका लागि स्वदेशभित्र प्रशस्त मात्रामा पाइने कच्चापदार्थ, प्रयोगपछि खेर जाने एवम् प्रयोगविहीन वस्तुहरु तथा स्थानीय स्रोतहरुको आत्मनिर्भर सहितको दिगो व्यावसायिक अवसरहरुको पूर्णतः सदुपयोग गर्दै उच्च रोजगारी सृजना, नमुना उद्योग स्थापना, व्यापारघाटाको न्यूनीकरण गर्दै अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याई उद्यमशील संस्कृतिको विकासका लागि स्थानीय नागरिकलाई रोजगारीका साथै दक्ष जनशक्ति निर्माण र मालिक बनाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको भण्डारीले बताउनुभयो ।

कम्पनीमा दर्तापश्चात् २६ करोड रुपियाँको शेयर बिक्री गर्ने स्वीकृति प्राप्त गरेको र हालसम्म करिब ११ करोड रुपियाँको लगानी भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ७५ प्रतिशत बाह्य र २५ प्रतिशत स्थानीय नागरिकलाई शेयर बाँडफाँट गरिने प्रावधानअनुसार स्थानीयलाई समेटेर रोजगारी, सिप प्रदानका साथै कम्पनीको मालिक बनाइने क्रम जारी रहेको छ ।

२०७६ सालमा ‘एक्सिलेण्ट पेपर रिसाइकल कन्सर्न’का नाममा प्रालिमा दर्ता गरिएको उद्योगलाई हाल नाम परिवर्तन गरी प्रालिबाट ‘एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेड’का रुपमा उद्योग परियोजना अगाडि बढाइएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, औंरहवामा हालै सञ्चालनमा आएको कागज उद्योग । तस्बिर ः गजेन्द्र गुरुङ


 


Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।