• १६ चैत २०८०, शुक्रबार

विश्वकप लिग–२ मा नेपालको पहिलो खेल ओमानसँग

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । नेपालले आईसीसी  विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।  

नेपाली टोलीले लिग–२ कै तयारीका लागि अहिले जिम्बावे ‘ए’ सँग टी–२० र एकदिवसीय सिरिज खेल्ने तयारीमा छ । नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा जिम्बावे ‘ए’ सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी–२० सिरिज खेल्न लागेको हो । सिरिजका लागि नेपाली टोलीले मङ्गलबारदेखि तयारी सुरु गरेको हो । जिम्बावेसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा भइसकेको छ । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।