• १२ मंसिर २०८१, बुधबार

स्थानीय तहमा त्रिसट्ठी करोडभन्दा बढी बेरुजु

blog

घोराही समाचारदाता

घोराही, जेठ २५ गते । दाङका १० वटा स्थानीय तहमा करिब ६३ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरेर ६३ करोड ६१लाख बेरुजु देखाएको हो । 

सो प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका र कम दङ्गीशरण गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको लेखा परीक्षणको प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिकाको १३ करोड४९ लाख बेरुजु देखिएको छ । 

उपमहानगरपालिकाको पाँच अर्ब तीन करोड लेखा परीक्षण गर्दा १३ करोड ४९ लाख बेरुजु देखिएको हो । उक्त प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिकाको १३ करोड २४ लाख बेरुजु रहेको छ । तुलसीपुर उपमहानगरपालिकाको चार अर्ब १९ करोडको लेखा परीक्षण गरिएकोमा १३ करोड २४ लाख बेरुजु देखिएको छ । त्यसै गरी लमही नगरपालिकाको आठ करोड ३१ लाख बेरुजु छ । लमही नगरपालिकाको दुई अर्ब १३ करोडको लेखा परीक्षण गरिएकोमा आठ करोड ३१ लाख बेरुजु देखिएको छ । 

गढवा गाउँपालिकाको छ करोड ४२ लाख बेरुजु रहेको छ । गाउँपालिकाको एक अर्ब ७५ करोडको लेखा परीक्षण गर्दा छ करोड ४२ लाख रुपियाँ बेरुजु देखिएको छ । दङ्गीशरण गाउँपालिकाको दुई करोड १४ लाख, बङ्गलाचुली गाउँपालिकाको चार करोड २० लाख, बबई गाउँपालिकाको बेरुजु दुई करोड ५२ लाख, राजपुर गाउँपालिकाको बेरुजु पाँच करोड देखिएको छ । प्रतिवेदन अनुसार राप्ती गाउँपालिकाको चार करोड ८९ लाख, शान्तिनगर गाउँपालिकाको बेरुजु तीन करोड ३६ लाख देखिएको छ ।

घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी कानुनी अस्पष्टतासँगै स्थानीय तहमा रहेको लेखा समिति प्रभावकारी बन्न नसक्दा धेरै बेरुजु देखिने गरेको बताउनुहुन्छ । स्थानीय तहमा असुलउपर गर्नुपर्नेभन्दा पनि प्रक्रिया नमिलेर गरिएका काममा बेरुजु देखिने गरेको स्पष्ट पार्दै उहाँले कानुनी अस्पष्टता हटाउने र स्थानीय तहमा रहेका लेखा समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सके धेरै बेरुजु कम गर्न सकिने बताउनुभयो । 

उक्त प्रतिवेदनले आर्थिक प्रशासनलाई जवाफदेही र पारदर्शिताका माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखा परीक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता बेरुजुका रूपमा परिभाषित गरेको छ । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फस्र्योट र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ ।