• ७ वैशाख २०८१, शुक्रबार

एन्फा महिला संघको अध्यक्षमा पेमा

blog

महिला फुटबल संघको अध्यक्षमा निर्वाचित भएपछि पेमा लामा सहित पदाधिकारीहरु । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, वैशाख १३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल सङ्घको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मङ्गलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्याशी विमला पौडेललाई ३० मतले पराजित गर्नुभयो ।

कूल ४२ मतमा पेमाले ३६ र विमलाले ६ मत पाउनुभएको थियो । सङ्घको उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली निर्वाचित हुनुभयो । सदस्यहरुमा विन्द्रा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भण्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । एन्फाको आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि महिला सङ्घको निर्वाचन गरिएको हो । एन्फा निर्वाचनमा महिला संघबाट एकजना प्रतिनिधिले मताधिकार पाउनेछ । 

निर्वाचनका लागि मताधिकार प्राप्त एन्फासम्बन्धित जिल्ला, विभिन्न संघ र क्लबहरुको नयाँ नेतृत्व चयन अहिले भइरहेको छ । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५  जिल्ला सङ्घलाई मताधिकार छ । क्बलहरुमा ‘ए’ डिभिजमा रहेका १४ वटा क्लब, ‘बी’ डिभिजनका रहेका १४ मध्ये ११ क्लब र ‘सी’ डिभिजनका रहेका १४ मध्ये नौ क्लबलाई मताधिकार छ । एन्फाले यसपटक राष्ट्रिय लिगका लागि छनोट भएका चार क्बललाई मताधिकार दिने निर्णाय गरेको छ ।