• १४ वैशाख २०८१, शुक्रबार

एक लाख ४४ हजार मनोनयन दर्ता

blog

काठमाडौं, वैशाख १३ गते । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४४ हजार ४१६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार मध्याह्न साढे १२ बजे सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३७५ र उपप्रमुख पदमा दुई हजार ६९ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै, पालिका अध्यक्षमा तीन हजार ३३४ र उपाध्यक्ष पदमा दुई हजार ३६४ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदमा ३३ हजार ७९७, महिला सदस्य पदमा २४ हजार ७९२, दलित महिला सदस्य पदमा २२ हजार ४४० र वडा सदस्य पदमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

त्यस्तै, मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।