• २ साउन २०८१, बुधबार

‘नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेला’

blog

रुपन्देही समाचारदाता

रुपन्देही, जेठ २४ गते । बुटवलमा बुधबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेलाको एक समारोहका बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । 

बिहीबारसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीका अवसर हुँदाहुँदै पनि युवाहरू विदेशमा रोजगारीमा जान बाध्य भइरहेको बताउँदै अब नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो । 

उहाँले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाम्रा विश्वविद्यालयले अब सिपमा आधारित शिक्षा दिनुपर्ने बताउनुभयो । 

मास्टर डिग्री गरेका युवाहरू सिप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकाले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला भोलि बिहीबारसम्म सञ्चालन हुने छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा श्रमाधान रोजगार मेला भएको हो । 

रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाको ज्ञान, सिप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले रोजगारी खोज्ने र रोजगारदातालाई जोड्ने गरी मेलाको आयोजना गरिएको बताउनुभयो । 

मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र सात सय जनाले मेलाबाट रोजगार प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन् । मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ ।