• १३ साउन २०८१, आइतबार

नाका खुल्दा लप्चीवासी उत्साही

blog

दोलखा समाचारदाता

दोलखा, जेठ २४ गते  । चीन सरकारले बिगु गाउँपालिका–१, लप्चीको पुरानो व्यापारिक नाका फलाक (रोङसिया) खोलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सो नाका खुलेसँगै लामो समयको प्रतीक्षा पूरा भएको स्थानीयवासी बताउँछन् ।

चिनियाँ पक्षले नाका खोल्यो, अब हाम्रोतिरको सडक र अन्य संरचना व्यवस्थित गर्न लाग्नुपर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताउनुभयो । तिब्बतसँग सीमा जोडिएको यस गाउँपालिकामा दुई वटा नाका रहेका छन् ।

फलाक नाका नेपालको ६१ नम्बर पिल्लरबाट जान्छ । यो समुद्री सतहबाट २५ सय १३ मिटर उचाइमा पर्छ । यो नाका तातोपानी नाका सडक मार्ग खोल्नुअघि काठमाडौँसँगको व्यापारिक नाका पनि हो । लप्ची नाकाबाट तिब्बतको छुप्साङ बजार जान्छ । यो नाका कोरोना कहरपछि बन्द गरिएको थियो । चार वर्षपछि नाका खुलेपछि स्थानीयका लागि दैनिक उपभोग्य वस्तु खरिद बिक्री र चौँरीजन्य उत्पादन बिक्रीवितरण सहज हुने बताइएको छ । 

त्यस्तै अर्को नाका तिब्बतको न्यालम काउन्टी अन्तर्गत रान्मुदिमामा जोडिन्छ । दुवै नाका खुलेपछि चीनसँगको व्यापार हुने र लामाबगर क्षेत्रको चहलपहल बढ्ने स्थानीयको अपेक्षा छ । लामाबगरसहित १४ नाका एकैसाथ खोलेसँगै दोलखाको लामाबगर र तिब्बतबिचको पुरानो व्यापारिक कारोबार नियमित हुने भएको छ । 

लामाबगरका व्यापारीले २०६८ सालसम्म तिब्बतको फलाक (रोङ्सिया) बजारबाट सामान ल्याउने गरेका थिए । लामाबगरमा सडकबाट गाडी पुगेपछि व्यापारिक कारोबार बन्द थियो ।

चिनियाँ पक्षले सीमा खोलेसँगै बिगु गाउँपालिकाका जनप्रतिनिधिलाई पनि आमन्त्रण गरेको थियो । सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मेम्बा तमाङ, कार्यपालिका सदस्य लोकबहादुर नेपालीसहितको टोली पुगेर फर्किएको छ ।

रोङ्जिङ पुगेर फर्किएका वडाध्यक्ष तामाङका अनुसार चिनियाँ पक्षले अब व्यापारीलाई चीन पठाइदिन आग्रह गरेका छन् । व्यापारीहरू जाँदा बस्नका लागि पनि भव्य भवन बनाएको र बजार नै भएकाले पुरानै लयमा व्यापार हुनेमा चिनियाँ पक्षले जोड दिएका छन् ।