• १२ साउन २०८१, शनिबार

प्राथमिक तहका ५७७ जना विद्यार्थीको आँखा परीक्षण

blog

विद्यार्थीहरुको आँखाको चेकजाँच गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ २३ गते । 
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाको प्राथमिक तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ । हालसम्म आँखाको परीक्षण नभएको र तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्क्रेनिङ गर्न निःशुल्क रूपमा यो शिविर सञ्चालन गरिएको हो ।

चङ्खेली गाउँपालिका–२ का लालप्रसाद जैसीले सातभन्दा बढी विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूको आँखाको स्क्रेनिङ शिविर सञ्चालन भएको बताउनुभयो ।

उहाँले निःशुल्क रूपमा साना विद्यार्थीहरूको आँखा परीक्षण गर्ने कार्य भएपछि उनीहरूको आँखाको अवस्थाबारे जानकारी भएको बताउनुभयो ।

शिविरको आयोजक हेल्पिङ हेण्ड कर्णाली हुम्लाका अध्यक्ष दिलबहादुर शाहीले बालबालिकाको आँखाको अवस्था पत्ता लगाउन र उपचारको व्यवस्थाका लागि यो स्क्रेनिङ शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले ५७७ जना बालबालिकाको आँखाको स्क्रेनिङ गर्दा १५  जनालाई चस्मा प्रयोग गर्ने व्यवस्था भएको र तीन जनालाई काठमाडौँमा आँखाको उपचार गर्ने व्यवस्था समेत भएको बताउनुभयो । निःशुल्क आँखाको स्क्रेनिङ कार्यक्रमले प्रत्येक विद्यार्थीको आँखाको अवस्थाबारे जानकारी भएको र विद्यार्थीका अभिभावकलाई समेत जानकारी गराउने कार्य गरिएको जानकारी उहाँले दिनुभयो ।

यसबाट आँखाको चेकजाँच गराउनुपर्छ भन्ने मान्यताको जगाउने कार्य भएको र न्यून आयस्रोत भएको घरपरिवारका बालबालिकालाई सहयोग पुगेको उहाँको भनाइ छ । चेकजाँचपछि आवश्यक पर्ने औषधी समेत निःशुल्क प्रदान गरिएको थियो ।

स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको समन्वय कार्यक्रम सञ्चालन भएको उक्त शिविर पाँच दिन चलेको थियो । यसका लागि  हेल्पिङ ह्याण्डले अस्ट्रेलियामा बस्दै आएका तीन जना नेपालीबाट प्राप्त भएको सहयोगबाट आँखा स्क्रेनिङ कार्यक्रम सञ्चालन गरिएको हो ।