शिवालय समाचारदाता
शिवालय (जाजरकोट), असार १ गते । मौसमजन्य विपत्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको शिवालय गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । गाउँपालिकाको जलवायु अनुकूलन योजना अनुरूप, स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णय अनुसार शिवालय गाउँपालिका–१, मोर्कबजार, वडा नं. ३ ऐरेली बजार र वडा नं. ९ नाहाडामा कृत्रिम घटना अभ्यास गरिएको हो ।
कार्यक्रम सहयोगी हातको समूह (सहास) नेपाल पाइला परियोजनाको आयोजना र गाउँपालिकाको समन्वय तथा सहजीकरणमा गरिएको थियो । अभ्यासमा भूकम्प, बाढी, आगलागी र एलपी ग्यास विस्फोट जस्ता सम्भावित घटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयमा नमुना देखाइएको सहास नेपाल शिवालयका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार प्रक्रिया, सुरक्षित बस्ने उपाय, सम्बन्धित निकायलाई जानकारी दिने र प्रारम्भिक सहायता कसरी पुर्याउने भन्ने विषयमा पनि नमुना प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा खोज तथा उद्धार तालिमप्राप्त स्वयंसेवक टिम, गाउँपालिकाका प्राविधिक टिम, विपत् व्यवस्थापन शाखा, इलाका प्रहरी कार्यालय सीमा र छेडाचौर प्रहरी चौकीका टोलीले संयुक्त रूपमा अभ्यास प्रदर्शन गरेका थिए । सहास नेपालद्वारा सञ्चालित पाइला परियोजना अन्तर्गत समुदायमा पारिवारिक विपत् सुरक्षा योजना, झटपट झोलाको तयारी, सुरक्षित स्थानको छनोटलगायतका विषयमा नियमित रूपमा कार्य भइरहेको प्रमुख अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार गत पुस १० गते विपत्को जोखिममा रहेका शिवालय–६ स्थित टुनिबगर र लोतपाखामा पनि नमुना अभ्यास गरिएको थियो । शिवालय गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष दीपक खड्काले यस्ता अभ्यासले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले विपत् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग महत्वपूर्ण रहने जनाउनुभयो । यस्तै इलाका प्रहरी कार्यालय सीमाका प्रमुख मोहनलाल अधिकारीले विपत् पूर्वतयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मनसुनपूर्वको खोज उद्धारमा हुन सक्ने जोखिम कम गर्न विपत् प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताउनुभयो ।