• १२ साउन २०८१, शनिबार

'लु' बाट बच्न विभिन्न उपाय अपनाउँदै पालिका

blog

गर्मीबाट पीडित भएका बालबालिकाले छाता पाएपछि । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २२ गते । बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा अत्यधिक गर्मी र लु बाट प्रभावितलाई जोगाउन विभिन्न विद्यालयमा ३५० थान सिलिङ पङ्खा जडान गरिएको छ भने ७०० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । 

स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोगमा कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दश वटा विद्यालयमा ३५० वटा सिलिङ फ्यान जडान गरी विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको छ । 

कतार च्यारिटिको कार्यक्रम प्रबन्धक ईर्शाद शेषले दिनुभएको जानकारी अनुसार खाद्यान्नमा पहुँचको लागि ज्यालादारी, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती र सुत्केरी आमा गरेर ७०० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरूलाई छाता, रुमाल, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको छ ।

यसैगरि नगरपालिकामा सेवा लिन आउने सर्वसाधारणलाई चिसो पानीको सुविधा उपलब्ध गराउन नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाका परिसरमा वाटर कुलिङ सिस्टम जडान गरिएको छ भने विश्रामस्थल जडानको काम भइरहेको छ । स्थानीय बासिन्दालाई हाइड्रेटेड बनाउनको लागि सार्वजनिक स्थानमा निःशुल्क पानी वितरण गर्ने कार्य निरन्तर चलिरहेको छ । त्यसका साथै तीन जिल्लाका पाँच पालिकाका ६ हजार बालबालिकालाई छाता, जीवनजल, ग्लुकोज, पानी खाने बोतल र झोला समेत वितरण गरिँदै छ । 

विभिन्न सामग्री वितरण गरिएकाहरूलाई सामग्री प्रदान गर्नु अघि गर्मी र लु बाट जोगिने उपायहरू सिकाउनुका साथै ध्यान दिनुपर्ने कुराहरूको जानकारी पनि गराइएको छ । कतार च्यारिटीका परियोजना प्रबन्धक इरशाद अलि शेखको नेतृत्वमा रहेको एक टोलीले वितरण कार्यक्रमको अनुगमन गरेको थियो । सो टोलीमा कतार च्यारिटिका परियोजना संयोजक फारिस, केफस महर्जन र रचना थापा स्टार्ट फन्डका कार्यक्रम प्रबन्धक प्रमिला सुवेदी र साझेदारी विशेषज्ञ सम्झना घिमिरेको सहभागिता रहेको थियो । 

सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अलि सिद्धिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, महासचिव बुधेश जैसवाल, कोषाध्यक्ष फिरदौस जहाँ, कार्यकारिणी सदस्यहरू मिना भुसाल र जावेद सिद्धिकी, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अलि सिद्धिकी, अनुगमन अधिकृत बिनिता आरसी, परियोजना अधिकृत नदीम शाह, सामाजिक परिचालक तथा स्वयंसेवकहरूको समेत सहभागिता रहेको थियो ।