• १३ साउन २०८१, आइतबार

दोहोरिन पाएका भाग्यमानी

blog

मित्र भण्डारी 

काठमाडौँ, वैशाख १३ गते । आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । ७५३ स्थानीय तहअन्तर्गत ३५ हजार २२१ पदका लागि सत्तारूढ पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । 

पार्टीभित्र नै आकाङ्क्षी धेरै रहेका बेला चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न सत्तारूढ र विपक्षी पार्टीहरूको फरक फरक चुनावी गठबन्धन बनेका कारण पार्टीका समिति तथा शीर्ष नेतृत्वमा समेत उम्मेदवार छान्न हम्मेहम्मे नै प-यो । पद नपाएका कतिपयले पार्टी छाडे तर यही चुनावको महासङ्ग्राममा केही यस्ता भाग्यमानी उम्मेदवारले दोस्रो कार्यकालका लागि दोहोरिने मौका पाउनुभयो । 

नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन ललितपुर महानगरपालिका प्रमुख पदमा पुनः दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सत्ता गठबन्धनबाट सर्वसम्मत महर्जनले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर प्रमुखमा निर्वाचित महर्जन पाँचदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएको हो ।

भरतपुर महानगरपालिकामा रेनुकुमारी दाहालले पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । पाँचदलीय गठबन्धनले दाहाललाई साझा उम्मेदवार बनाउँदै महानगरको प्रमुखमा पुनः दोहो¥याउने निर्णय गरेको हो । उहाँले गत स्थानीय निर्वाचनमा प्रतिस्पर्धी एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई पराजित गर्नुभएको थियो । 

वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगीले पनि पुनः उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ मा जनता समाजवादी पार्टीबाट महानगर प्रमुख बन्नुभएका सरावगी केही दिनअघि मात्र जसपा छोडेर एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेले नवप्रवेशी सरावगीलाई दोस्रो कार्यकालका लागि दोहो¥याउने निर्णय गरेको हो । 

देशका ११ उपमहानगरपालिकामा पनि तीन जना पुनः दोहोरिनुभएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई सत्तारूढ पाँचदलीय गठबन्धनले दोस्रो कार्यकालका लागि पुनः उम्मेदवार बनाएको छ । गत स्थानीय निर्वाचनमा उहाँ नेपाली काँग्रेसबाट प्रमुख बन्नुभएको थियो । 

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकामा समेत लालकिशोर साह दोस्रो पटक प्रमुखमा दोहोरिनुभएको छ । गत स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उपमहानगर प्रमुख बनेका साह सङ्घीय समाजवादी पार्टीसँग एकीकरणपछि बनेको जनता समाजवादी पार्टीबाट यस पटक प्रमुखमा पुनः उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै धरान उपमहानगरपालिका प्रमुखमा एमालेबाट मञ्जु भण्डारी सुवेदी प्रमुखमा उम्मेदवार बन्नुभएको छ । गत स्थानीय निर्वाचनमा उपप्रमुखमा विजयी भण्डारी दोस्रो पटक प्रमुख पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।