• १३ असोज २०८१, आइतबार

उद्योग खोल्न जग्गा अभाव

blog

सिराज खान 

नेपालगञ्ज, वैशाख १३ गते । नेपालगञ्ज क्षेत्रमा जग्गा अभावका कारण नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ ।नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित नौबस्ता औद्योगिक क्षेत्रको निर्माण समयमै सुरु हुन नसकेकाले उद्योगी व्यवसायी अत्यधिक चर्को मूल्यमा जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएका छन् । 

नेपालगञ्ज औद्योगिक क्षेत्रमा जग्गा सकिएको र नयाँ औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्दा बाँकेमा उद्योग सञ्चालन गर्न चाहने अधिकांश उद्योगीले या त चर्को मूल्यमा जग्गा खरिद गरेर उद्योग खोल्नुपर्छ या अन्य ठाउँतिर जानुपर्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

बाँकेमा उद्योग खोल्न तयार भएका स्थानीय र बाहिरी जिल्लाका उद्योगीले औद्योगिक क्षेत्रमा जग्गा नपाउँदा जानकी गाउँपालिका र नेपालगञ्ज–कोहलपुर सडक खण्डको वरिपरि अति नै महँगो जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएको गुनासो गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताउनुभयो । 

उद्योग खोल्न चाहनेमध्ये धेरैले यहाँ जग्गा नपाएपछि अन्य जिल्लामा गएर उद्योग सञ्चालनमा ल्याएको पाइएको पनि उहाँले बताउनुभयो । 

नेपालगञ्ज औद्योगिक क्षेत्रलाई विस्तार गर्ने र नौबस्ता औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न पटकपटक सम्बन्धित निकायलाई आग्रह गरिएको भए पनि सुनुवाइ नभएको सङ्घले जनाएको छ । 

स्थानीय उद्योगी व्यवसायी कृष्णप्रसाद श्रेष्ठले उद्योग खोल्नका लागि नेपालगञ्ज औद्योगिक क्षेत्रमा जाँदा जग्गा नभएको भनि फकाइएको र नौबस्ताको औद्योगिक क्षेत्रको निर्माण नै सुरु नभएकाले जग्गा नपाएरै उद्योग खोल्न नपाएको बताउनुभयो । उहाँले बाहिर जग्गा साह्रै महँगो भएकाले चाहेर पनि उद्योग खोल्न नसकेको गुनासो गर्नुभयो । 

नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि जग्गा माग हुँदै आए पनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । 

उहाँले नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा रहेको र थप उद्योगका लागि खाली जग्गा नरहेको जानकारी दिनुभयो । २३३ रोपनी जग्गामा रहेको सो औद्योगिक क्षेका सबै जग्गामा उद्योग खुलेका छन् । 

सहरको बीच भागमा नेपालगञ्ज औद्योगिक क्षेत्र रहेकाले विस्तारको सम्भावना पनि नरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो समय नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

गनापुरमा करिब ८० वटा ठूला उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । उहाँले नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव रहने बताउनुभयो ।